अन्तर्राष्ट्रिय

यसरी गरियो थाई राजाको अन्त्येष्टि

एजेन्सी । थाइल्याण्डको राजधानी ब्यांककमा गत वर्ष निधन भएका थाइ नरेश पूमिपोन अदून्यदेतको विशाल शवयात्रा भएको छ। कालो रंगको लुगा लगाएका हजारौँ मानिसहरुले अन्त्येष्टि समारोहमा भाग लिइरहेका छन्। सात दशकसम्म गद्दीमा रहेका राजा पूमिपोनको गत वर्ष अक्टोबरमा निधन भएको थियो।

झकिझकाउ सुनौलो रंगको भव्य रथमा राखिएको अस्तुकलश ब्यांककका सडकहरु हुँदै विशेष रुपमा तयार पारिएको शाही दाहसंस्कारस्थलतर्फ लगिएको थियो। अठासी वर्षको उमेरमा गत अक्टोबरमा उनको मृत्यु भएको थियो।

हजारौं थाइ नागरिकहरु ब्यांककका सडकहरुको दुबैपट्टि दिवंगत नरेशको सम्मानका लागि लामबद्ध भएका छन्। पाँच दिने दाहसंस्कार समारोहको मुख्य हिस्साका रुपमा सांकेतिक अस्तुकलशलाई ढोल, बाँसुरीको धुन र तोप सलामी सहित दाहसंस्कारस्थलतर्फ लगिएको थियो।

धेरै भवनहरु पहेंला सयपत्री फूलहरुले सजाइएका छन् भने मानिसहरुले सम्मान प्रकट गर्न कालो रंगको लुगा लगाएका छन्। निकै श्रद्भा गरिने थाइ नरेश पूमिपोनको दाहसंस्कार बुधबार एक बौद्ध परम्परासहित शाही दरबार ग्रान्ड प्यालेसमा शुरु गरिएको हो। बिहीबारको शवयात्रा अघि शाही दरबारमा श्रृंखलाबद्ध धार्मिक संस्कारहरु भएका थिए।