पु.समाचार

ओली र दाहालले संयुक्त रुपमा भने, “कोही कसैले पनि निर्वाचन सार्न सक्दैन”

काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आगामी मंसिर १० र २१ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कुनै पनि अवस्थामा सम्पन्न हुनुपर्ने बताएका छन् ।

दुई पार्टीले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा निर्वाचन सार्ने र अनेकन बहानाबाजी गर्ने काम आफूहरुलाई स्वीकार्य नभएको बताएका हुन् । मतपत्र प्रयोगका सम्बन्धमा सर्वोच्च अदालतले बुधबार दिएको आदेशका कारण आफूहरुलाई चिसो पसेको भन्दै दुवै पार्टीका अध्यक्षले जनताको निर्वाचनप्रतिको चाहना र अपेक्षामा तलमाथि नगर्न आग्रह गरेका हुन् ।

निर्वाचन आयोगले तयार पारेको मतपत्रको ढाँचाबाट कुनै पनि नागरिक वा मतदाताको कुनै संवैधानिक, कानुनी, मौलिक तथा नागरिक हकको प्रयोगमा बाधा नपुग्ने, मतपत्रमार्फत मतदाताले मन पराएको दल वा उम्मेदवार छनोट गर्न र गोपनियतामा कुनै व्यवधान नपुग्ने तथ्य स्पष्ट रहेको सो अवसरमा जानकारी दिइयो ।

मुलुक निर्वाचनमा अग्रसर भइसकेको अवस्थामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रयोग हुने मतपत्रका सम्बन्धमा अनावश्यक बहस विवादमा नअल्झी घोषित समयमा नै निर्वाचन सम्पन्न गर्ने कार्यमा योगदान पु¥याउनसमेत एमाले र माओवादी केन्द्रले सचेत गराएका छन् ।

बुधबार सर्वोच्च अदालतले दिएको आदेशप्रति आफूहरुको ध्यानकर्षण भएको भन्दै उनीहरुले लोकतान्त्रिक अभ्यासलाई अवरुद्ध पार्ने, लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने र जनताको अधिकारलाई कुण्ठित गर्ने कार्यप्रति सजग रहनसमेत अनुरोध गरिएको छ ।

पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि बहाना र शर्तमा निर्वाचन सार्ने र सार्न खोज्ने प्रयत्न मान्य नहुने बताए । उनले भने, “संविधानले नै निर्वाचन गर्ने मिति तोकिदिएका कारण कुनै पनि बहानाबाजी चल्दैन । त्यस्तो प्रयत्न कहीँ कतैबाट भयो भने त्यो मान्य पनि हुँदैन ।”

उनले निर्वाचन आयोग, नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको संयुक्त छलफलमा नै सबै विषयलाई प्रष्ट पारिसकेको अवस्थामा मतपत्रको विषयलाई लिएर गरिएका अनावश्यक हल्ला र टिप्पणीसमेत स्वीकार्य नभएको उल्लेख गरे । संविधान कार्यान्वयनको प्रक्रियामा भाँजो हाल्न खोज्ने जो कोहीलाई नेपाली जनताले नसहने उनको कथन थियो ।

अध्यक्ष ओलीले सरकारले निर्वाचन सार्ने चलखेल गरिरहेको भन्ने समाचारले जनमानसमा अन्योल सिर्जना भएकाले सबैको ध्यानाकर्षण गर्न पत्रकार सम्मेलन गर्नुपरेको पनि बताए । उनले भने, “मतपत्र दुईवटै छ । दुईवटा मतपत्र संविधानबमोजिम नै तय गरिएको हो । त्यसैले अहिले स–साना कुरामा अल्झिने कुरा छैन । कोही अल्झन खोज्छ भने त्यो छुट्छ ।”
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वसहमतिमा नै निर्वाचन आयोगलाई यसरी नै मतपत्र छाप्न आग्रह गरेको प्रत्यक्ष र समानुपातिकको मतपत्र दुई वटा नै भएको बताए । मतपत्रसम्बन्धी विवाद समाधानका लागि आयोगले नै विशेषज्ञसहितको कार्यदल बनाइएको र सोही कार्यदलको सिफारिशअनुसार नै अर्को मतपत्र सम्भव नभएको निर्णय गरेको पनि उनले उल्लेख गरे ।

सर्वोच्चको बुधबारको आदेशप्रति इंगित गर्दै उनले कार्यदलप्रति सम्मान गरेर नै आयोगले अदालतलाई जानकारी दिए । अध्यक्ष दाहालले भने, “मतपत्रको विषयलाई लिएर अदालतले कारण देखाउ आदेश दिएपछि हामीलाई केही चिसो पस्यो । यस्तो नहोस् । तोकिएको समयमै निर्वाचन सम्पन्न हुनुपर्छ ।”

उनले सर्वोच्चको आदेशले आफूहरुलाई चिसो पसेको उल्लेख गर्दै उम्मेदवार मनोनयन प्रक्रिया शुरु भएपछि संसद् स्थगित भएको पुनः दोहो¥याए । समानुपातिक निर्वाचन प्रणालीका लागि बन्दसूची पेश गरी निर्वाचन प्रक्रिया शुरु भएकाले सभामुखले संसद् स्थगित मात्रै गरेको भन्दै उनले निर्वाचन सार्ने षड्यन्त्र भए संसद् पुनःस्थापना गर्ने संकेत गरे । उनले देशलाई अप्ठ्यारो नपरोस् भनेर नै आफूहरु दुःखका साथ सरकारमा रहेको पनि बताए।