राजनीति

राष्ट्रिय अखण्डता र स्वाधीनताको विषय सबै दलको साझा मुद्दा हुनुपर्छ – अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले मुलुकको राष्ट्रिय अखण्डता, प्रजातन्त्र र स्वाधीनताको विषय सबै दलको साझा मुद्दा हुनुपर्ने बताएका छन् ।

पार्टीद्वारा आज आयोजित कार्यक्रममा उनले राष्ट्रिय महत्वका विषयलाई सबै राजनीतिक दलले केन्द्रमा राखेर अगाडि बढ्न सकेमा देशको राष्ट्रिय एकता र समृद्धि सम्भव रहेको बताए ।

अध्यक्ष थापाले जनताको आर्थिक समुन्नतिको चाहनालाई पूरा गर्नका लागि देशमा राजनीतिक परिवर्तन भएको भए पनि आर्थिक परिवर्तन हुन नसकेकाले सामाजिक रुपान्तरण हुन नसकेकामा चिन्ता व्यक्त गरे ।

उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका नेता तथा कार्यकर्ता सो पार्टीमा प्रवेश गराइएको सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

राप्रपाः उपत्यकास्तरीय भेला सम्पन्न
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई अग्रस्थानमा लैजान मतदातालाई आग्रह गरेका छन् ।
पार्टीको काठमाडौँ जिल्ला समितिले आज आयोजना गरेको उपत्यकास्तरीय भेलामा अध्यक्ष राणाले ‘मुलुकलाई साम्यवादी चंगुलबाट बचाउन’ पार्टीले लोकतान्त्रिक गठबन्धनमा सहभागिता जनाउनुपरेको बताए ।
पार्टीका उपाध्यक्ष तथा वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले निर्वाचनलाई राष्ट्रिय पर्वका रुपमा लिएर कार्यकर्ताले उच्च मनोबलका साथ पार्टीलाई विजयी गराउन देशव्यापी रुपमा चुनावी गतिविधि गर्न निर्देशन दिए ।
महामन्त्री राजाराम श्रेष्ठले पार्टीले लिएका हिन्दू राष्ट्र, समावेशी लोकतन्त्र, आर्थिक उदारवादलगायत आदर्शबारे देशभर मतदातालाई जानकारी गराउन सम्बन्धित जिल्ला कमिटिलाई आग्रह गरे । अर्का महामन्त्री ध्रुवबहादुर प्रधान, सहप्रवक्ता किरण गिरीलगायतले देशको राष्ट्रिय अखण्डताको रक्षा र जनताको पक्षमा पार्टी क्रियाशील रहेको बताए । काठमाडौँ उपत्यकाका तीनै जिल्लाका संयोजक तथा पार्टीका जिल्ला तहका नेता र कार्यकर्ता गरी २०० को सहभागिता थियो ।