पु.समाचार

आज छठपर्व विशेष उल्लासमय ढंगले मनाइँदै, राष्ट्रपति भण्डारी पनि पूजामा सरिक हुँदै

काठमाण्डौ । आज हिन्दुहरुको तेश्रो ठूलो पर्व छठ निकै धुमधामका साथ मनाइदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वको आज पहिलो दिन हो । यो पर्व सूर्यदेवको आरधना, उपासना र पूजा गरी निकै उल्लासपूर्व मनाइने गरिन्छ । आज छठको पहिलो र मुख्य दिन भएकोले साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अर्घ दिइने चलन रहेको छ ।

यो पर्वको आफ्नै किंबदन्ती र कथा रहेको पाइन्छ । सूर्य पूराणअनुसार अत्रिमूनिकी पत्नी अनुसूयाले छठ वर्त गरेका कारण उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यहीबेला देखि यो पर्व मनाउने गरिएको बताइन्छ ।

त्यस्तै अर्को किंबदन्ती अनुसार द्रौपदीसहित पाँच पाण्डवहरु अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको कथा उल्लेख गरिएको पाइन्छ । सोही कथा बमोजिम छठ पर्वको सुरुवात भएको मानिन्छ । माथि उल्लेखित किंवदन्तीहरु सँगै छठ पर्वबारे अन्य कथाहरु समेत पाइन्छन् । जसले यो पर्वलाई थप निखार ल्याउने कोशिस गरेका छन् ।

छठ पर्वको अवसरमा काठमाण्डौको गुहेश्वरी, कमलपोखरी, गहनापोखरी, बागमती, विष्णुमति, बल्खु लगायतका नदी किनारहरुमा सजावट गरिएको छ । बिहीबार साँझ गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पूजा गर्नुहुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।