अन्तर्राष्ट्रिय

केन्यामा पुन मतदान हुने

एजेन्सी ।  केन्याको निर्वाचन आयोगका प्रमुखले दोहोर्याएर हुन लागेको विवादास्पद राष्ट्रपतीय चुनाव यसअघि तय गरिए अनुसार बिहीबार नै हुने घोषणा गरेका छन्। दोस्रो कार्यकालका आकांक्षी राष्ट्रपति उहुरु केन्याटाले गत अगष्टको चुनावमा जितेका भए पनि त्यसमा अनियमितता भएको भन्दै सर्वोच्च अदालतले रद्द गरेपछि पुन: मतदान हुन लागेको हो ।

निर्वाचन रोक्न माग गर्दै दायर गरिएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा जम्मा दुईजनामात्रै न्यायाधीश उपस्थित भएपछि त्यसको सुनुवाई हुनसकेन। उप प्रधानन्यायाधीश फिलोमेना मुइलुका अंगरक्षकमाथि मंगलबार एकजना बन्दुकधारीले गोली प्रहार गरेर घाइते बनाएपछि उनी अदालत आउन सकिनन्।

सर्वोच्चमा सुनुवाई नभएपछि निर्वाचन आयोगका प्रमुखले यसअघि तय गरिए अनुसार नै बिहीबार चुनाव हुने बताएका हुन्। अशान्तिका खबरहरुका माझ राष्ट्रपति उहुरु केन्याटाले केन्याका जनताहरुलाई शान्तिपूर्ण रहन र मतदानमा भाग लिन आह्वान गरेका छन्।

चुनाव रोकियोस् भन्ने चाहेका मुख्य विपक्षी नेता राइला ओडिंगाले भने आफ्ना समर्थकहरुलाई मतदान बहिष्कार गर्न भनेका छन्। धेरैले राजनीतिक समस्या भन्दै दुवै नेतालाई भेटेर त्यसको समाधान खोज्न भने पनि उनीहरुले त्यसलाई अस्वीकार गरेका छन्।