पु.समाचार

एक्कासि देखियो वन मन्त्रालयमा चर्को विवाद

काठमाण्डौ ।वन मन्त्रालयमा मन्त्री विक्रम पाण्डे र राज्यमन्त्री कमलादेवी शर्माबीच जिम्मेवारी बाँडफाँटको विषयमा विवाद भएको छ । दुवै नेता राप्रपा (प्रजातान्त्रिक) बाट मन्त्री बनेका हुन् । राज्यमन्त्री शर्मा आफूलाई विगतका राज्यमन्त्रीलाई जस्तो हैसियतअनुसारको जिम्मेवारी नदिइएको भन्दै राज्यमन्त्री शर्मा मन्त्री पाण्डेसँग असन्तुष्ट छिन् ।

‘दुईरतीनपटक जिम्मेवारी चाहियो भनेर मन्त्रीज्यूसँग भनेकी हुँ,’ राज्यमन्त्री शर्माले भनिन्, ‘विगतका राज्यमन्त्रीले पाएजस्तो हैसियत अनुसारको जिम्मेवारी मैले पाएकी छैन, पाउनुपर्छ भन्ने मेरो भनाइ हो ।’ वन मन्त्रालयमा वन, राष्ट्रिय निकुञ्ज, वनस्पति, भूसंरक्षण र वन अनुसन्धान गरी ५ वटा विभाग छन् ।

बिहीबारको कान्तिपुरमा लेखिएको छ, यी विभागबाहेक वैदेशिक सहयोग भित्रिने ‘रेड कार्यान्वयन केन्द्र’, काठ बिक्रीमा चलखेल हुने टिम्बर कर्पोरेसन अफ नेपाल (टीसीएन), जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, वन पैदावार विकास समिति, राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) लगायत वनअन्तर्गत पर्छन् ।

तीमध्ये हैसियतवाला र शक्तिशाली मानिने वन, निकुञ्ज र भूसंरक्षण विभागका साथै चलखेल गर्न पाइने निकाय सबै मन्त्री पाण्डेले आफूले राखेर राज्यमन्त्रीलाई ‘कामचलाउ’ विभागको मात्र जिम्मेवारी दिएको राज्यमन्त्री निकट स्रोतले बतायो । विगतमा मन्त्री र राज्यमन्त्रीले ५ वटा विभाग बाँडफाँट गर्दै काम गर्ने गरेको स्रोतको भनाइ छ ।