आर्थिक

तीन महिनामा पाँच अर्ब ६५ लाख राजश्व

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले चालु आवको तीन महिनामा रु पाँच अर्ब ६५ लाख १८ हजार राजश्व संकलन गरेको छ ।

गत आर्थिक वर्षको तीन महिनाको तुलनामा एक रु अर्ब ४० करोड ७८ लाख ६ हजार बढी राजश्व संकलन भएको हो ।

कार्यालयका कर अधिकृत डिल्लीराम पौड्यालकाअनुसार गत आवको साउनदेखि असोजसम्ममा रु तीन अर्ब ४४ करोड २५ लाख २२ हजार राजश्व संकलन भएको थियो । गत आवमा लक्ष्यभन्दा १०९.६९ प्रतिशत उपलब्धि हासिल भएको थियो ।

चालु आवको तीन महिनामा रु चार अर्ब ५४ करोड ६२ लाख १३ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ११०.१३ प्रतिशत बढी राजश्व संकलन भएको पौड्यालले बताए । चालु आवको तीन महिनामा आयकर लक्ष्यको ८९।३२ प्रतिशत, घर बहाल कर १२२.७५ प्रतिशत, ब्याजकर ८१.८३ प्रतिशत, मूल्य अभिवृद्धि कर १०६.४० प्रतिशत, अन्तशुल्क ११२.४८ प्रतिशत, स्वास्थ्य सेवा कर ८५.६५ प्रतिशत र शिक्षा सेवा कर ११६.५५ प्रतिशत संकलन भएको छ ।

असोज महिनामा मात्रै कार्यालयले रु एक अर्ब ८१ करोड ५८ लाख ५४ हजार राजश्व संकलन भएको छ । गत आर्थिक वर्षको असोज महिनामा रु एक अर्ब १४ करोड २० लाख ६९ हजार राजश्व संकलन भएको थियो ।

यस क्षेत्रमा मदिरा उद्योग बढी भएकाले अन्तःशुल्क रकम सबैभन्दा बढी हुने गर्दछ । गत तीन महिनामा अन्तःशुल्क मात्रै रु चार अर्ब २५ करोड ७६ लाख ५२ हजार संकलन भएको कार्यालयले जनाएको छ ।

कर अधिकृत पौड्यालकाअनुसार करदातामा कर तिर्नुपर्छ भन्ने भावनाको विकास हुनु, कर्मचारीको सक्रियता बढ्नु, उद्योग वाणिज्य संघ, उद्योग संघलगायतका संघ संस्थाको सहयोगका कारण लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न कार्यालय सफल भएको हो ।