पर्यटन/संस्कृति

कोइलाहा ताल यसरी बन्दैछ पर्यटकीय गन्तव्य

धनगढी । कैलारी गाउँपालिका–९ स्थित कोइलाहा ताललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउन आवश्यक पूर्वाधार जुटाउने काम भइरहेको छ । सो कामको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

तालको उचित व्यवस्थापन गरी पर्यटकीय गन्तव्य बनाउन आगामी पाँच वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरिएको छ । ताल रहेको क्षेत्रमा चारवटा बोटिङ डुंगाको व्यवस्थाका साथै भ्यू टावर, प्रतीक्षालय, वनभोजस्थल लगायतका पूर्वाधारको निर्माण भएपछि आन्तरिक पर्यटक आउन थालेका ताल संरक्षण समितिका अध्यक्ष सिहीलाल चौधरीले बताए।

“ताललाई यस क्षेत्रको मुख्य पर्यटकीय गन्तव्य बनाउन पहल भइरहेको छ”, उनले भने । सो ताल अवलोकनका लागि दैनिक तीन सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् । करिब ७२ हेक्टर क्षेत्रफलमा फैलिएको सो तालको गहिराइ यकिन हुन् सकेको छैन ।

उक्त ताल एक वर्षअघि पाँच वर्षका लागि रु एक करोड ४० लाखमा ठेक्कामा दिइएको वडाध्यक्ष खेमराज चौधरीले बताए । तालमा माछापालन गरिँदै आएको छ । तालको आम्दानीले सो क्षेत्रमा रहेका विभिन्न विद्यालयका निजी स्रोतका शिक्षकको पारिश्रमिक व्यहोर्ने गरिएको छ ।

उक्त क्षेत्रमा कोइलही नामका दुईवटा ठूला ताल, जोगिनियालगायतका आठवटा प्राकृतिक ताल रहेका वडाध्यक्ष चौधरी बताउनुहुन्छ । कैलारी गाउँपालिकामा ७३ वटा प्राकृतिक ताल तलैया रहेका छन् । ताल तलैयाको स्थानीय क्लब, विद्यालय र समूहले आ–आफ्नै ढंगले उपयोग गरिरहेका छन् । गाउँपालिकाले आफ्नो मातहतमा ल्याएर निश्चित अवधिसम्म ठेक्कामा लगाई आम्दानीको स्रोत बनाउन लागेको सो गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत बलराम चौधरी बताउछन् ।