सामाजिक सञ्जाल

न्यायको प्रसंग जोड्दै एकाबिहानै डा.बाबुराम भट्टराईले गरे यस्तो आह्वान !

काठमाण्डौ । सत्तारुढ दल नेपाली कांग्रेससँग चुनावी तालमेल गरी गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न लागेका नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले गोरखाली जनताई फेरि एकपटक मत दिएर जिताउन आह्वान गरेका छन् ।

संयोजक भट्टराईले मंगलबार बिहान आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेख्दै सो आह्वान गरेका हुन् । नेता भट्टराईले अघिल्ला चुनावमा पनि गोरखाली जनताले जिताएर संविधानसभामा पठाएको र छोटो अवधिमा अर्थमन्त्री तथा प्रधानमन्त्री बन्ने अवसर पाउँदा केही योगदान गरेको स्मरण गर्दै त्यसबेला रोपिएको पूर्वाधारको बीउलाई हुर्काउन फेरि एकपटक अवसर दिन अनुरोध गरेका छन् ।

नेता भट्टराइले न्याय नपाए गोरखा जानु भन्ने पूरानो उक्तिको स्मरण गर्दै यसपटकको आम निर्वाचनमा पनि गोरखाली जनताले सत्य र न्यायको पक्षमा फैसला गर्ने विश्वास लिएका छन् । नेता भट्टराईले विभिन्न पत्रपत्रिकामा आफु र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग जोडिएर आएका समाचारहरुलाई पनि तस्वीरको रुपमा स्टाटस्मा प्रयोग गरेका छन् ।

ती पत्रिकाहरुमा ‘सबैको ध्यान गोरखा–२ मा नै किन ?’ ‘धर्मसंकटमा गोरखाली जनता’ जस्ता हेडलालइन राखेर समाचार र पाठकपत्रहरु प्रकाशित छन् । ती प्रकाशित सामाग्रीहरुलाई समेत डा.भट्टराईले आफ्नो स्टाटस्मा तस्वीरको रुपमा प्रस्तुत गरेका छन् ।