शिक्षा

दुई क्याम्पससहित सुदूरपश्चिमका १५ क्याम्पसलाई आंगिकता

दार्चुला । दार्चुला जिल्लाका दुई क्याम्पससहित सुदूरपश्चिमका १५ क्याम्पसले सुदरपश्चिम विश्वविद्यालयअन्तर्गत आंगिकता पाएका छन् ।

हालसम्म समुदायबाट सञ्चालनमा रहेका गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वर र दार्चुला बहुमुखी क्याम्पस दार्चुला आंगिक क्याम्पस बनाउनका लागि सरकारबाट निर्णय भइ निर्देशन आएको गोकुलेश्वर बहुमुखी क्याम्पसका उपप्राध्यापक भक्तराज भट्टले जानकारी दिए ।

क्याम्पसले आंगिकता पाइसकेको अवस्थामा जिल्लामा रोजगारीका अवसर सिर्जना हुने र समुदायले सञ्चालन गर्नुपर्ने बाध्यताको अन्त्य हुने समेत उपप्राध्यापक भट्टले बताए ।

क्याम्पस सञ्चालनका लागि दार्चुला जिल्लाका गोकुलेश्वर क्याम्पसका लागि ३५ र दार्चुला बहुमुखी क्याम्पस दार्चुला सञ्चालनका लागि २४ वटा दरबन्दी सिफारिस भएका छन् ।

मन्त्रिपरिषद्बाट मिति २०७४ साल असोज २ गते भएको निर्णयअनुसार यी क्याम्पसले आंगिकता पाएकाले अब दरबन्दी मिलानको काम मात्रै बाँकी रहेको छ । सुदूरपश्चिमका १५ क्याम्पसका लागि ४४४ दरबन्दी सिफारिस गरिएका छन् ।

यस्तै अन्य जिल्लाका आंगिक्ता पाउने क्याम्पसमा कैलालीको कैलाली बहुमुखी क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस र दुर्गालक्ष्मी बहुमुखी क्याम्पस रहेका छन् भने, बझाङको जयपृथ्वी बहुमुखी क्याम्पस, बैतडीको जगन्नाथ बहुमुुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस र मणिलेक बहुमुखी क्याम्पस, रहेका छन् ।

यस्तै डडेल्धुराकोे त्रिवेणी बहुमुखी क्याम्पस, डोटीको सीताराम बहुमुखी क्याम्पस र घण्टेश्वर बहुमुखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस र बडीमालिका बहुमुखी क्याम्पस, अछामको जनता बहुमुखी क्याम्पस रहेका छन् ।