राजनीति

कांग्रेसको एउटै निर्णयले बाबुरामको भाग्य चम्किने संकेत, नारायणकाजी तनावमा !

काठमाण्डौ । दशैंलगत्तै बाम गठबन्धन निर्माणमा सहयोग जुटाउने नयाँ शक्ति पार्टी र त्यसको नेतृत्व एकहप्ता पनि नबित्दै सो गठबन्धनबाट बाहिरियो ।  बाम गठबन्धनसँग चुनावी तालमेलका विषयमा कुरा नमिलेपछि बाहिरिएका सो पार्टीका संयोजक डा.बाबुराम भट्टराईले अन्ततः नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने काममा सफलता हासिल गरेका छन् ।

नेपाली कांग्रेससँगको चुनावी तालमेलसँगै उनी गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार समेत बनेका छन् । गोरखामा कांग्रेसले उनलाई सघाउने निर्णय गरेको छ ।  योसँगै डा.बाबुराम भट्टराईले चुनाव जित्ने समेत संकेत देखिएको छ । यद्यपि, सो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उम्मेद्वारी दिएकोले यो पटकको चुनावी भीडन्त रोमाञ्चक हुने भएको छ ।

नेपाली कांग्रेससँगको तालमेललगत्तै बाबुरामले सो क्षेत्रको चुनावी प्रचारलाई तिव्रता दिएका छन् । गोरखा क्षेत्र नम्बर १ र २ मा सबै पार्टीहरुले उम्मेद्वारी टुंग्याएका छन् । क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसले चिनकाजी श्रेष्ठलाई उम्मेद्वार बनाएको छ भने नेकपा एमाले र माओवादी गठबन्धनले हरि अधिकारीलाई उम्मेद्वार बनाएको छ । त्यस्तै, क्षेत्र नम्बर दुईमा कांग्रेसले भट्टराईलाई छाडिदिएको छ भने एमाले–माओवादी गठबन्धनले नारायणकाजी श्रेष्ठलाई उम्मेद्वार बनाएको छ ।

त्यस्तै,प्रदेशसभाका लागि सबै पार्टीहरुले उम्मेद्वारी टुंग्याएका छन् । प्रदेशसभा अन्तर्गत १ नम्बर (क) मा नेपाली कांग्रेसले धिरन थापा र (ख) राजेन्द्र बजगाइँलाई उम्मेद्वार बनाएको छ । त्यस्तै प्रदेशसभाको क्षेत्र नम्बर २ (ख) मा प्रकाशचन्द्र दुवाडी र (क)मा नयाँ शक्तिलाई दिने निर्णय भएको छ ।

त्यस्तै बाम गठबन्धनले पनि प्रदेशसभाको उम्मेद्वारहरुको टुंगो लगाएको छ । बाम गठबन्धनले प्रदेशसभा क्षेत्र नम्बर १ (क)मा माओवादीका लेखबहादुर थापा र (ख)मा एमाले नेता रामशरण बस्नेत उठ्ने भएका छन् । क्षेत्र नम्बर २ (ख) मा माओवादीकी नहर्की र (क) मा अमर तमुले टिकट पाएका छन् ।यसरी सबै दलहरुले गोरखामा उम्मेद्वारहरुको टुंगो लगाएका छन् ।

कांग्रेसको निर्णयले बाबुरामको भाग्य चम्किने संकेत !
अघिल्लो स्थानिय निर्वाचनमा नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीचको टक्कर निकै उत्कर्षमा पुगेको थियो । यी दुई पार्टीबीचको आन्तारिक कलहको फाइदा नेपाली कांग्रेस लिँदा सो क्षेत्रमा स्थानीय चुनावको मतपरिणाम कांग्रेसको पक्षमा पुगेको थियो । यद्यपि, गोरखा कांग्रेसको पनि राम्रो जनाधार भएको क्षेत्रको रुपमा चिनिन्छ । स्थानीय चुनावको मतलाई आधार मान्दा गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्र र नयाँ शक्तिबीचको निकै अन्तर देखिन्छ ।

माओवादी केन्द्र मतका आधारमा निकै अघि देखिएपनि पछिल्लो समयमा आएर माओवादीलाई टक्कर दिनसक्ने शक्ति नेपाली कांग्रेससँग बाबुरामले चुनावी तालमेल गर्न सफल भएका छन् ।

नेपाली कांग्रेसले यो पटक पनि बाबुरामको भाग्य चम्काइदिने बाटो खोलिदिएको छ, किनभने अहिले झन् माओवादी केन्द्र र नयाँ शक्तिबीचको विवाद धेरै उत्कर्षमा पुगेको अवस्था छ । यस्तो बेलामा सो क्षेत्रमा कांग्रेसले जसलाई समर्थन गर्यो उसले चुनाव जित्ने निश्चित छ । बाबुरामका लागि नेपाली कांग्रेस भाग्य विधाता बनेर अघि आएको छर्लङै देखिएको छ ।

बाबुरामले नेपाली कांग्रेससँग चुनावी तालमेल गरेलगत्तै माओवादी नेता नारायणकाजी श्रेष्ठमाथि अब चर्को दबाब परेको छ । उनी निकै तनावमा रहेका खबरहरु समेत बाहिर आइरहेका छन् । यसले गोरखा क्षेत्र नम्बर २ मा अबको चुनावी टक्कर निकै चर्को रुपमा देखिन सक्ने आंकलन गरिदैछ ।

यद्यपि,आगामी चुनावमा बाबुरामको प्रचार अभियान कत्तिको आक्रामक हुन्छ र स्थानीय कांग्रेस नेता–कार्यकर्ताहरुले कत्तिको सहयोग गर्छन् भन्ने कुरामा पनि आउने मतपरिणाम निश्चित हुन्छ ।  बाबुरामको व्यवस्थापकीय तयारीमै उनको भविष्य निर्धारण हुने जानकारहरु बताउँछन् ।