राजनीति

यो तस्वीर देखेपछि जनयुद्धमा भाटा हान्न आदेश दिने पुष्पकमलले के जवाफ देलान् ?

काठमाण्डौ । यतिबेला सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यामहरुमा एउटा तस्वीर निकै भाइरल भैरहेको छ । मुलुकको शीर्ष दलहरुमध्ये एक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तिहारमा आफ्नो पारिवारसँग बसेर तास खेलिरहेको उक्त तस्वीरले राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा चर्चा पाइरहेको छ ।

दाहाल आफ्ना परिवारका सदस्यहरुसँग बसेर तास खेलिरहेका छन् । अहिलेको जमानामा तास खेल्नु स्वभाविक कुरा भएपनि राजनीतिक नेतृत्व र त्यो पनि माओवादी नेतृत्वसँग त्यो विषय जाडिएर आउँदा भने धेरैलाई आश्चर्यमा पारेको छ ।

दशै र तिहारमा जुवा र तासमा नेपालीहरु रमाउनु स्वभाविक कुरा हो तर माओवादी आन्दोलन र त्यो पार्टीको शीर्ष नेतृत्वको रुपमा रहेका दाहाल आफैले तास खेलेको दृष्यले केही प्रश्नहरु भने अघि ल्याइदिएको छ ।

मुलुकमा लामो समय सशस्त्र युद्धको नेतृत्व गरेर आएको सो पार्टी र त्यसले तत्कालीन समयमा लिएका नीति र अख्तियार गरेका बाटाहरुलाई स्मरण गर्दा पूर्वप्रधानमन्त्री समेत भैसकेका दाहालले तासको खालमा जमेको यो दृष्यले सो पार्टी र त्यसको आदर्शको समेत खिल्ली उडाएको देखिन्छ ।

दाहाल नेतृत्वको माओवादी पार्टीले शसस्त्र युद्धको बेला स्थानीय ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्रमा समेत जुवा–तास विरुद्धको अभियान चलाएको थियो ।

त्यसबेला सो पार्टीका नेता–कार्यकर्ताहरुले जुवा–तासविरुद्ध चलाएका भाटा अभियानका कारण अहिले पनि हज्जारौं नेपालीहरुले पीडा महसुस गरिरहेका छन् ।

धेरैलाई माओवादी कार्यकर्ताहरुले भाटा हानेर कार्वाही गरेका खबरहरु बाहिर आइरहेका हुन्थे । तर आज त्यही माओवादी पार्टी र आन्दोलनका कमाण्डर पर्वमा रमाउने नाममा जुवा र तासको खालमा भेटिन थालेका छन् ।

यसले दाहाल स्वयंको खिल्ली उडाएको मात्र छैन, उनको नेतृत्वमा भएको राजनीतिक आन्दोलन र त्यसले लिएको सांस्कृतिक रुपान्तरणको अभियानलाई समेत फिक्का बनाइदिएको छ ।

हुन त मुलुकको पछिल्लो राजनीतिक परिदृष्यलाई हेर्दा दाहाल नेतृत्वको माओवादी पार्टीको राजनीतिक आदर्श र अभियानको पूरै अवसान भैसकेको भन्नेहरु पनि धेरै छन् ।

उनको परिवार र त्यसका सदस्यहरुले गर्ने गरेका रबैयाहरुलाई हेर्दा सो पार्टीको नेतृत्व गर्ने कमाण्डरको समेत राजनीतिक रुपमा अवशान हुने संकेतहरु यसअघि नै देखिएका थिए तर उनै दाहाल तासको खालमा देखिन थालेपछि त यसले त्यसको पुष्टि समेत गरेको छ ।

कसले सार्वजनिक गर्यो तस्वीर ?
तिहारको अवसरमा तासमा मस्त रमाइरहेका दाहालको तस्वीर बाहिर कसरी आयो ? बेला बेलामा दाहाल र उनको परिवारसँग समेत जोडिएका विवादस्पद विषयहरु बाहिर आइरहेका हुन्थे ।

विवादस्पद कुराहरु बाहिर आएपनि तस्वीरनै बाहिर आउँदैनथे तर यो पटक भने तास खेलिरहेको तस्वीरनै सार्वजनिक भएको छ ।

सार्वजनिक पद धारण गर्ने र गरिसकेका भीभीआइपी तहका व्यक्ति जो मुलुकको शीर्ष नेता समेत रहेका छन्, उनको यो खालको तस्वीर कसले बाहिर ल्यायो त्यो भने प्रस्ट भैसकेको छैन । यद्यपि दाहालको परिवारकै कुनै सदस्यहरुले तस्वीर बाहिर ल्याएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।