पु.समाचार

जुवाडे समाउन प्रहरीले यसरी गर्यो छ राउण्ड गोली प्रहार

सिमरा, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित बकुलियामा प्रहरीले जुवाडे समाउन छ राउण्ड गोली प्रहार गरेको छ ।

बिहीबार राति २ बजे जुवाको खाल नियन्त्रणमा लिने क्रममा इलाका प्रहरी कार्यालय सिमराले छ राउण्ड हवाईफायर गरेको प्रहरीले जनाएको छ ।

बकुलियामा जुवा खेलिरहेको सूचनाका आधारमा जुवा नियन्त्रण गर्न पुगेका प्रहरीलाई स्थानीयवासीले घेरेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।

प्रहरीले एक ठाउँका जुवाडेलाई समाउन खोज्दा गाउँका अन्य ठाउँमा सञ्चालित जुवाडेहरुले प्रहरीलाई गाउँमै घेरेको र बाध्य भएर स्थिति नियन्त्रणमा लिन हवाईफायर गरेको प्रवक्ता साहको भनाइ छ ।

जुवाडे र प्रहरीबीच दोहोर झडपसमेत भएको थियो । झडपमा एक प्रहरीसहित केही स्थानीयवासी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाका शंकर चौधरी थारुलाई नियन्त्रणमा लिएको छ भने नगद रु १५ हजार बरामद गरेको छ ।