खेलकुद

युरोपा लिगमा खेलाडीहरु बीचमै मुक्का हानाहान !

एजेन्सी । पछिल्लो समय इंग्लिस क्लब एभर्टनको खेल खासै सन्तोषजनक देखिँदैन । इंग्लिस प्रिमियर लिगमा होस वा युरोपा लिगमा उसको प्रदर्शन राम्रो छैन । बिहीबार राति युरोपा लिग अन्तर्गतको खेलमा फ्रेन्च क्लब लियोनसँग २–१ को हार बेहोर्योज ।

तर बिहीबारको खेल जित हारले भन्दा खेलमैदानलाई खेलाडीले खेलेको कुस्तीले चर्चामा छ । खेलको दोस्रो हाफमा एभर्टनका क्याप्टेन एस्ले विलियम्स लियोनका गोलरक्षक एन्थोनी लोप्ससँग ठोक्किन पुगे । विवाद त्यहीँबाट सुरु भयो ।

त्यही विवादमा विलियम्सले लियोनका खेलाडीलाई मैदान बाहिर राखिएको विज्ञापनको होर्डिङ बोर्डतर्फ धकेले । त्यसपछि एभर्टनका फ्यान एन्थोनी लोप्समाथि एक्कासी आक्रमण गर्न लागे ।

एभर्टनका एक जना फ्यान त काखमा सानो बच्चा च्यापेर एन्थोनी लोप्सलाई आक्रमण गर्न खोज्छन् । खेलमा लगभग होस गुमाएका विलियम्स रेड कार्डबाट भने जोगिए । उनले लियोनका गोलरक्षक एन्थोनी लोप्सलाई धकेलेको विवाद गरेकोमा पहेलो कार्ड पाए ।

घटनाको बारेमा युएफाले अनुसन्धान गर्ने भएको छ । एभर्टनमाथि प्रतिबन्धसमेत लाग्न सक्ने बताइएको छ । घटनाका बारेमा एभर्टनका कप्तान एस्ले विलियम्स भन्छन्, ‘यो फुटबल हो, यस्तो हुन्छ । हामी पनि खेल जित्न चहन्थ्यौँ, उनीहरु पनि जित्न चाहन्थे । फुटबलमा यस्तो हुन्छ ।’

लियोनका गोलरक्षक लोप्सले भने, ‘मलाई लाग्दैन इंग्लिस फुटबलको वातावरण यस्तो हो जहाँ पाहुना खेलाडीलाई हानिन्छ । ’ घटना भैरहँदा पाहुना टिम लियोन १–० ले अगाडि थियो । विलियम्सले पछि एभर्टनका लागि गोल गर्दै बराबरी गरे । नाबिल फकिरको गोलले पाहुना टिमले एभर्टनमाथि २–१ को जित निकाल्न सफल भयो ।