पु.समाचार

आजबाट नेपाल सम्बत ११३८ सुरु

काठमाडौं । नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए ।

विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछिदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।

वि.सं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा छ ।