खेलकुद

यसरी मेसीले पुर्याए सय गोल

एजेन्सी ।  फुटबल स्टार लियोनेल मेसीले युरोपियन क्लब प्रतियोगितामा एक सय गोल पुर्‍याएका छन् । च्याम्पियन्स लिग अन्तर्गतको समूह डिको बुधबार राति भएको ओलम्पियाकोससँगको खेलमा मेसीले एक सय गोल पुर्‍याएका हुन् ।

मेसीले १२२ खेलबाट युरोपेली क्लब प्रतियोगितामा एक सय गोल हानेका हुन् । उनी एक सय गोल गर्ने दोस्रो खेलाडी हुन् । क्रिस्टियानो रोनाल्डोले १४३ खेलबाट सय गोल पुर्‍याएका छन् ।

पहिलो हाफकाे अन्यतिर बार्सिलोनका जेरार्ड पिकेले रातो कार्ड खाएपछि बार्सिलोना दश खेलाडीमा सीमित भएको थियो । खेलको १८ औं मिनेटमा ओलम्पियाकोसका निकोलाउले गरेको आत्मघाती गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो ।

खेलमा लागातार दबाब बनाएको बार्सिलोनाका लागि खेलको ६२ औं मिनेटमा लियोनल मेसीले गोल गरेका थिए भने बार्सिलोनाका लागि तेस्रो गोल लुकास डिग्नेले गरेका थिए । खेल सकिन केही समय बाँकी रहँदा ओलम्पियाकोसका लागि निकोलाउले गोल गरेका थिए ।

समूह डिमा तीन खेल जित्दै ९ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा रहेको छ । तीन खेलमा एक हार र दुई जित निकाल्दै ६ अंकका साथ युभेन्टस दोस्रो स्थानमा रहेको छ ।