अन्तर्राष्ट्रिय

यस्ता छन् उत्तर कोरियाली राष्ट्रपति किमलाई सहयोग गर्ने दुई व्यक्ति

एजेन्सी । अमेरिका र चीनसहित कैयौँ मुलुकले उत्तर कोरियाको पारमाणविक कार्यक्रमलाई लिएर विभिन्न प्रतिबन्धहरु लगाइसकेका छन्। तर संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र शक्ति राष्ट्रहरुको प्रतिबन्धका बावजुद उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।

अमेरिकाले राष्ट्रसंघमा उक्त मुद्दालाई पटक-पटक उठाउँदै आएको छ। राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले भनिन्, “विगत २४ वर्षदेखि हाम्रा सबै प्रयासहरुका बावजुद उत्तर कोरियाको पारमाणविक कार्यक्रम पहिलेभन्दा खतरनाक भएको छ।”

प्रश्न उठ्छ- आखिर प्योङयाङको पारमाणविक कार्यक्रम कसरी अघि बढ्दैछ? उत्तर कोरियाको पारमाणविक कार्यक्रमलाई गति दिनुको श्रेय दुईजना परमाणु वैज्ञानिकहरु री होङ-सोप र होङ सङ-मुलाई जान्छ।

री होङ-सोप पारमाणु अस्त्र अध्ययन केन्द्रका प्रमुख हुन् भने होङ सङ-मु त्यसका उप-निर्देशक हुन्। पारमाणविक कार्यक्रमसम्बन्धी उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अनको महत्त्वाकांक्षा पूरा गर्ने जिम्मेवारी तिनै दुईजनाको काँधमा रहेको बताइन्छ।

जन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ता माइकल म्याडन भन्छन्, यी दुई वैज्ञानिकहरुसँग ठूलो शक्ति छ र उनीहरुले उत्तर कोरियाको परमाणु वैज्ञानिक समुदायको प्रतिनिधित्व गर्दछन्। म्याडनका अनुसार ती दुई वैज्ञानिकहरु कुनैबेला परमाणु भौतिकशास्त्रका पिता भनिने डो साङ-रोकका विद्यार्थी थिए।