पु.समाचार

अब ढुक्क भएर चुनावको तयारीमा लाग्न आयोगको आग्रह

काठमाण्डौ । निर्वाचन आयोगले आगामी मङ्सिर १० र २१ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने सुनिश्चित भएकाले त्यसमा कुनै आशङ्का नगर्न र तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क रहन सबै मतदातालाई आग्रह गरेको छ ।

‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन’को तयारीका विषयमा जानकारी दिदै प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले भने, “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाबाट पूर्ण सहयोग हुनेछ भन्ने विश्वास आयोगले लिएको छ ।”

मतपत्रका बारेमा सर्वोच्च अदालतबाट बुधबार नै भएको आदेशबाट निर्वाचनलाई असर पर्छ कि भन्ने जिज्ञासामा प्रमुख आयुक्त डा. यादवले भने, ‘‘अदालतबाट भएको फैसलाको औपचारिक जानकारी प्राप्त छैन । सञ्चारमाध्यमबाट आएका समाचारअनुसार अदालतको फैसलाबाट निर्वाचनको मिति र व्यवस्थापनमा कुनै असर पुग्नेछैन ।’’

नेपालको राजनीतिक इतिहासमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दुईवटा निर्वाचन एकैपटक हुन लागेको यो पहिलोपटक हो । निर्वाचन सम्पन्न गराउन आयोगले यसअघि व्यवस्थापन गरिएका मतपेटिकाबाट नै निर्वाचन गराउने तयारी गरेको छ भने विभिन्न प्रकारका निर्वाचन सामग्रीको व्यवस्थापन प्रक्रियालाई अगाडि बढाइसकेको छ भन्दै बिहीबारको गोरखापत्रमा समाचार लेखिएको छ ।