आर्थिक

कीर्ते गरेर रकम झिक्ने जोशी यसरी परे प्रहरीको फन्दामा

दार्चुला । राष्ट्रिय वाणिज्य बैंक दार्चुला शाखा कार्यालयबाट खातावालको दस्तखत कीर्ते गरेर रकम झिकेको तथ्य खुलेको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को खाता नं २२३९ बाट निवर्तमान अध्यक्ष नारायण जोशीले सचिव कमलराज जोशीको कीर्ते दस्तखत गरी रकम झिकेका हुन् । शोभा अवस्थीको नाममा खिचिएको चेक भदौ २१ गते साटिएको पाइएको छ । उक्त चेकको रकम रु १९ हजार ८०० रहेको छ ।

सोही दिन रु आठ हजार र रु २२ हजार ५०० का अन्य दुई वटा चेकसमेत साटिएका छन् । तर उक्त दुवै चेकमा भने सचिव जोशीले दस्तखत गरेको बताइएको छ ।

नियोकका नामले सञ्चालित उक्त खाता अध्यक्ष र सचिवको संयुक्त दस्तखतबाट सञ्चालित थियो । कीर्ते दस्तखत गरी खाताबाट रकम झिकेको आफूलाई डेढ महिनापछि मात्र थाहाभएको सचिव जोशीले बताए ।

नियोकलाई स्वेच्छाचारी, एकलौटी एवं मनोमानी ढंगले सञ्चालन गर्दै आइरहेको आरोप उनीमाथि छ । उनी गैैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्षसमेत हुन् ।

खाताबाट रकम झिकेकोबारे थाहा पाएपछि सचिव जोशीले बैंकमा गई खाताको विवरण मागेका थिए ।

यता, रावा बैंकले भने कीर्ते दस्तखत गर्ने अध्यक्ष जोशीलाई तत्काल उक्त रकम फिर्ता गर्न आग्रह गरिएको बैंकका शाखा प्रबन्धक त्रिचन्द्र भण्डारीले जानकारी दिए । अध्यक्ष जोशीले आफू नेपालगन्जमा रहेको र यही कात्तिक ५ गते सोही खातामा रकम फिर्ता गर्ने वचन दिएको बैंकले जनाएको छ ।