राजनीति

संसदीय ब्यवस्था नमानने पार्टी अब हाम्रोमात्र – अध्यक्ष गजुरेल

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) का नेताहरुले चुनावमार्फत आफूहरु वैकल्पिक शक्तिका रुपमा आउने बताएका छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मोर्चाका अध्यक्ष सिपी गजुरेलले अन्य सबै दल संसदीय व्यवस्थाका पक्षधर रहेको र आफ्नो पार्टीमात्रै यो व्यवस्थाको विरोधी पार्टीका रुपमा निर्वाचनमा सहभागी भइरहेको जिकिर गरे ।

उनले भने, “वैचारिक र राजनीतिकरुपमा अरु सबै पार्टी एकातिर र हामी अर्कोतिर छौँ । जनताले वैकल्पिक शक्तिका रुपमा हामीलाई मतदान गर्नेछन् ।” मूल पार्टी क्रान्तिकारी माओवादी निर्वाचन आयोगमा दर्ता नभए पनि मोर्चा आयोगमा दर्ता भई ‘मुट्ठी’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएको हो ।

विगतको स्थानीय तहको निर्वाचनमा पार्टीले चुनाव चिह्न नपाएकै कारण भनेअनुरुपको परिणाम नआएको र यसपटक चिह्न पाएका कारण राम्रो परिणाम आउने अध्यक्ष गजुरलेले बताए ।

निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपासँग तालमेल नहुने तर अन्य पार्टीसँग तालमेलका लागि आफूहरु छलफलमै रहेको उनले जानकारी दिए ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रमले नेतृत्व गर्नुभएको नेकपा (मसाल), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग कार्यगत एकताका लागि छलफल भइरहेको र कालान्तरमा पार्टी एकतासम्मका लागि प्रयास भइरहेको अध्यक्ष गजुरेलको भनाइ थियो ।

कार्यक्रममा मोर्चाका नेता परि थापाले निर्वाचनमा सकेसम्म सबै क्षेत्रबाट उम्मेदवारी दिने तयारी पार्टीले गरेको जानकारी दिए ।