स्वास्थ्य

डा केसीका माग जसरी पनि सम्बोधन हुन्छ : मन्त्री बोहरा

काठमाडौँ । नवनियुक्त स्वास्थ्यमन्त्री दीपक बोहराले आज प्रा डा गोविन्द केसीलाई भेटी उनले राखेका माग सम्बोधन हुने बताएका छन्।

केसीसँगको भेटमा उनले भने, “प्रधानमन्त्रीले अध्यादेश जारी गरी चिकित्सा शिक्षा ऐन ल्याउने तयारी गर्दै हुनुहुन्छ । यसबारे विज्ञहरुसँग उहाँले छलफल गरी राय लिइरहुनभएको छ ।”

डा. केसी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा १४ दिनदेखि चिकित्सा शिक्षा र सेवाको सुधारलगायतका माग राखी १३ औँ अनशनमा छन् । मन्त्री बोहराले डा केसीलाई स्वास्थ्यसँग सम्बन्धित विषयमा मन्त्रालय सकारात्मक रहेको र अन्य विषयमा सहमति जुटाई आजै माग सम्बोधन हुने विश्वास दिलाएका थिए ।

डा केसीले सरकारका तर्फबाट हरेक पटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृतिका कारण आफू ढुक्क हुन नसकेको गुनासो गरे । उनले भने, “धेरै पटक धोका भयो, अब कार्यान्वयन सुनिश्चित नहुन्जेल सम्झौता गर्दैनौँ ।”

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले शिक्षामन्त्री गोपालमान श्रेष्ठ, पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, प्रा. केदारभक्त माथेमा र डा केसीका वार्ता समिति सदस्य डा अभिषेकराज सिंहसँग वार्ता गरिरहेका छन् ।

यही कात्तिक ६ गते बस्ने मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश जारी गरी ऐन ल्याउने विषयमा छलफल भइरहेको बताइएको छ ।