राजनीति

कृष्ण सिटौलादेखि सुजाता कोइरालासम्म सँधैका लागि थन्किने संकेत, अब के जवाफ देला कांग्रेसले ?

काठमाण्डौ । नेपाली कांग्रेसले यो पटक पार्टीका केही ठुला नेताहरुलाई समानूपातिकतर्फको उम्मेद्वार बनाएको छ । प्रत्यक्षतर्फ उम्मेद्वारी दिएर भएपनि जित्न सक्ने नेताहरुलाई समानूपातिकतर्फको उम्मेद्वारी बनाइएपछि कांग्रेसभित्र एउटा तप्काले गम्भीर बहस समेत उठान गरिरहेको छ ।

कांग्रेसले लोकप्रिय र प्रभावशाली नेता कृष्ण सिटौलादेखि नेतृ सुजाता कोइराला समेतलाई समानूपातिकको उम्मेद्वार बनाएको छ । सिटौला र कोइराला मात्र होइन, केबी गुरुङ, बालकृष्ण खाँड, दिलेन्द्र प्रसाद बडु,चित्रलेखा यादव, सीतादेवी यादव लगायतलाई समानूपातिकमा थन्क्याएको छ ।

संघीय संसदको प्रत्यक्षतर्फ उठेर विजयी हासिल गर्न सक्ने यी नेताहरुलाई पार्टीले किन समानूपातिकमा लगेर थन्क्यायो ? यो प्रश्नको उत्तर अहिले नेपाली कांग्रेसभित्र उठिरहेको छ र यसलाई धेरै कार्यकर्ताहरुले बहसको विषय बनाएका छन् । कांग्रेसको यो कदमलाई कार्यकर्ताहरुले बन्धनको रुपमा लिन थालेको देखिन्छ ।

कृष्ण सिटौला, सुजाता कोइराला, बालकृष्ण खाँड लगायतका नेताहरु कांग्रेसभित्र मात्र होइन, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत चर्चित नेताहरु हुन् । उनीहरुले मुलुकका जुनसुकै निर्वाचन क्षेत्रबाट उठेपनि विजयी हासिल गर्ने सामथ्र्य राख्छन् । तर उनीहरुले समानुपातिकमै चित्त बुझाएका छन् । समानूपातिक उम्मेद्वारमा सिमित हुनुको कारणबारे नेता बालकृष्ण खाँडले भने आफुहरु चुनावी अभियानको नेतृत्व गरेर देशव्यापी रुपमा खटिनुपर्ने भएकोले समानूपातिकतर्फबाट चुनावमा उठ्नुपरेको खुलासा गरेका छन् ।

नेता सिटौला र नेतृ कोइराला लगायतका उम्मेद्वारहरुले भने यो सवालमा मुख खोलेका छैनन् । झापा र मोरङ निर्वाचन क्षेत्र भएका सिटौला र कोइरालाका लागि ती क्षेत्र यसबेला धेरै प्रतिकुल पनि थिएनन् । मोरङ त नेपाली कांग्रेस र कोइराला परिवारको विरासत जोडिएकै ठाउँ हो, तैपनि उनले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गरिनन् । यो बारेमा उनले मुख खोलेकी छैनन् ।

त्यस्तै शान्तिप्रक्रियाको व्यवस्थापन मुख्य व्यवस्थापककै रुपमा भूमिका खेलेर आएका कांग्रेसका अर्का लोकप्रिय नेता सिटौलालाई पनि झापामा धेरै गाह्रो अवस्था थिएन । पछिल्लो समयमा एमालेको पक्षमा माहोल आएको संकेत देखिए पनि आन्तारिक विवादका कारण एमालेमा झापामा अझै कमजोर देखिन्छ ।

यही बेलामा सिटौलाले समानूपातिकमा बस्ने इच्छा देखाउनु कांग्रेसकै लागि घाटा हुने जानकारहरु बताउँछन् । त्यस्तै, कांग्रेस केन्द्रीय कोषाध्यक्ष सितादेवी यदाव, अर्की प्रभावशाली नेतृ चित्रलेखा यादव पनि नेपालको राजनीतिक इतिहासमा स्थापित र प्रभावशाली नामहरु हुन् ।

उनीहरुले यो बेला प्रत्यक्ष निर्वाचन लडेर मधेसको राजनीतिमा कांग्रेसलाई थप स्थापित गराउनुपर्नेमा समानूपातिकमा राख्ने निर्णय गलत भएको एकथरी कांग्रेस कार्यकर्ताहरुको तर्क देखिन्छ । यसले कांग्रेसलाई निकै घाटा पार्न सक्ने उनीहरुको तर्क छ ।

को–को परे कांग्रेसबाट समानूपातिकमा ?
नेपाली कांग्रेसबाट समानूपातिकमा पर्ने नेताहरुमा कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, बालकृष्ण खाँड, केबी गुरुङ, दिलेन्द्रप्रसाद बडु, किशोरसिंह राठोर, कृष्णचन्द्र नेपाली, सीतादेवी यादव, चित्रलेखा यादव र पुष्पा भुसाल रहेका छन् ।

त्यस्तै समानूपातिकमा परेका अन्यमा महालक्ष्मी उपाध्याय डिना, लक्ष्मी परियार, सुजाता परियार, डिला संग्रौला, उमा रेग्मी, मीना पाण्डे र मञ्जु खाण रहेका छन् । त्यस्तै,मृदुला कोइराला, मधु शाही, रीता खनाल, सीता गुरुङ, ज्ञानकुमारी छन्त्याल, बहादुरसिंह लामा लगायत कांग्रेसको समानूपातिक कोटामा परेका छन् ।