पु.समाचार

इतिहासमै पहिलोपटक नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको निर्वाचनमा विजयी

काठमाण्डौ । नेपाल इतिहासमै पहिलोपटक संयुक्त राष्ट्रसंघको एउटा महत्वपूर्ण निर्वाचनमा विजयी भएको छ । अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघीय सभा अन्तर्गत सम्पन्न भएको मानवअधिकार परिषदको निर्वाचनमा पहिलोपटक नेपाल विजयी भएको हो ।

नेपालले एसिया–प्रशान्त क्षेत्रबाट सबैभन्दा बढी मत प्राप्त गरेको छ । योसँगै नेपालले संयुक्त राष्ट्रसंघमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट प्रतिनिधित्व समेत गर्न पाउने मौका पाएका छ ।

निर्वाचनमा एसिया–प्रशान्त क्षेत्रबाट नेपालका अतिरिक्त कतार, पाकिस्तान र अफगानिस्तानले पनि निर्वाचनमा भाग लिएका थिए । ती मुलुकहरुभन्दा नेपालले बढी मत प्राप्त गरेको छ । निर्वाचनमा नेपालले १६६, कतारले १५५, पाकिस्तानले १५१ र अफगानिस्तानले १३० मत प्राप्त गरेको छ ।

राष्ट्रसंघ अन्तर्गतको मानवअधिकार परिषदको निर्वाचनमा नेपालले अग्रमत ल्याउनुमा उसँगको प्रतिस्पर्धामा एसिया–प्रशान्त क्षेत्रका अधिकांश मुलुकहरु मुस्लिम देश भएको र राष्ट्रसंघीय सभामा यी मुलुकहरुको मानवअधिकारको अवस्था र त्यहाँको मुल्यांकनले काम गरेको अनुमान गरिएको छ ।

दुई वर्षअघि नेपालको परराष्ट्र मन्त्रालयले राष्ट्रसंघीय मानवअधिकार परिषदको निर्वाचनका लागि उम्मेद्वारी दिएको थियो । कडा प्रतिस्पर्धाका बीच नेपालले विजयी हासिल गरेको परराष्ट्र मन्त्रालय निकट श्रोतको दाबी रहेको छ ।