शिक्षा

बौद्ध विद्यालयहरु संकटमा !

नवलपरासी । नवलपरासी जिल्लामा मुठीदानबाट चल्दै आएको बौद्ध विद्यालयलाई आर्थिक तथा भौतिक सहयोगको अभाव भएपछि सरकारसंग गुहार गरेको छ । बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले करिब दुई दशकदेखि नियमितरूपमा सञ्चालित अहिंसावादी महाबौद्ध अनाथ आधारभूत विद्यापीठमा अहिले आर्थिक अभावले समस्या उत्पन्न भएको बताइएको छ ।

विद्यापीठमा आर्थिक अभावकै कारण बालबालिकाको पठनपाठनमा समस्या हुनुका साथै कक्षाकोठाको कमी, आबास र खानपानको समेत समस्या भएको विद्यालयकी प्रमुख सानीमाया तामाङले जानकारी दिए ।

हाल विनयी त्रिवेणी गाउँपालिका–२ अर्थात् साविक दुम्कीबास–९ स्थित दाउन्ने डाँडामा अहिंसावादी बालगृह निर्माण गरी प्राथमिक तहको पठनपाठन पछि माथिल्लो कक्षाको पठनपाठनका लागि सोही ठाउँमा अहिंसावादी महाबौद्ध अनाथ आधारभूत विद्यापीठ नामक विद्यालय पनि सञ्चालन गरी सँगसँगै नियमतिरुपमा सञ्चालन आएको छ ।

मुठीदान र कर्मकाण्डबाट संकलन भएको आम्दानीले चल्दै आएको उक्त गृह र विद्यापीठमा १४० विद्यार्थी अध्ययनरत छन् । गृहमा मात्र नेपालको २८ वटा जिल्लाबाट अनाथ, असहाय, सुकुम्बासी र गरिब बालबालिका अध्ययनरत छन् । जसमध्ये १०२ बालबालिका बालगृहमा बस्दै आएका छन् ।

बौद्ध शिक्षा अनिवार्य गरी कक्षा १० सम्म पठनपाठन गराउँदै आएको यस विद्यापीठमा कक्षाकोठाको अभावले नै कक्षा ९ र १० का विद्यार्थीलाई बाहिरका विद्यालयमा अध्यापन गराइँदै आएको छ ।विद्यापीठलाई १२ वटा कक्षाकोठा आवश्यक भएकामा नौ वटा मात्र कक्षाकोठा छ ।
होस्टलमा बस्ने सम्पूर्ण विद्यार्थीको खाना, लत्ताकपडा, बास, किताब, कलम कापीलगायतका सम्पूर्ण खर्च गृहले नै व्यहोर्दै आएको छ ।

पठनपाठनका लागि १३ शिक्षक कर्मचारीको तलब मात्र रु एक लाख ८६ हजार लाग्नेमा एकजना राहत दरबन्दी र एकजना बाल शिक्षक बाहेक सबै निजी स्रोतमा तलब खाने गरेका छन् ।

जिल्लाको कावासोती, हसौरा गैँडाकोट र दाउन्नेमा गरी चार वटा बालगृहमा करिब २५० जना बालबालिका आबद्ध छन् ।