पु.समाचार

यस्तो बन्यो बाम गठबन्धनको चुनावी घोषणापत्र

काठमाण्डौ । एमाले–माओवादीको वाम गठबन्धनले मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी घोषणापत्र तयार पारेको छ ।गठबन्धन निर्माण कुनै पनि राजनीतिक शक्तिविरुद्ध परिलक्षित नभएको बताए पनि घोषणापत्रमा भने एमाले–माओवादीले सत्तारुढ कांग्रेसमाथि आरोपैआरोप लगाएका छन् ।

गठबन्धनले कांग्रेस नेतृत्वले अहिलेको संविधानको अन्तरवस्तु, मूलमर्म र भावनालाई आत्मसात् गर्न र सही ढंगले कार्यान्वयन गर्न नसक्ने भन्दै कांग्रेसमाथि चुनावी अभियानक्रममा आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेको छ ।

एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत दुवै पार्टीका नेता सम्मिलित कार्यदलले घोषणापत्रलाई अन्तिम रूप दिएको हो । कार्यदलले तयार पारेको घोषणापत्र पार्टी एकता संयोजन समितिले एकपटक अध्ययन गरेपछि सार्वजनिक गरिने नेताले बताएका छन् ।

५५ वर्षसम्म फरक स्कुलिङबाट अगाडि बढेका दुई प्रमुख वामपन्थी पार्टी एकै हुने संकल्पसहित निर्वाचन तयारीमा जुटेपछि कांग्रेसले यी दुई पार्टीले ‘अधिनायकवाद’ जन्माउन खोजेको आरोप लगाइरहेका बेला घोषणापत्रमा भने उनीहरूले आफूहरूले कुनै त्यस्तो अधिनायकवाद जन्माउने ध्येय नराखेको प्रस्ट पारेका छन् ।

मंगलबारको अन्नपूर्णमा लेखिएको छ, गठबन्धनले कांग्रेसको वर्गचरित्र यथास्थितिवादी र भ्रष्टाचारको पर्यायवाचीजस्तै भएको भन्दै खरो आलोचना गरेको छ ।

‘हाम्रो यो एकता र चुनावी गठबन्धनलाई लोकतन्त्रका लागि अनिष्टका रूपमा टिप्पणी गरेर कांग्रेसले आफ्नो अलोकतान्त्रिक प्रवृत्ति एवं निहित स्वार्थपरक कुण्ठाजन्य अभिव्यक्ति पोखेको छ,’ घोषणापत्रमा भनिएको छ, ‘कम्युनिस्ट शक्तिहरू विभाजित भइरहे र आफ्नो विजयलाई पन्छाउने काम गरिरहे मात्र नेपालमा लोकतन्त्र हुने नेकाको सोच हदैसम्म अलोकतान्त्रिक हो ।’