राजनीति

वाम एकताले काँग्रेसलाई कुनै असर पर्दैन्ः नेता लेखक

काठमाडौँ । नेपाली काँग्रेसका नेता रमेश लेखकले वाम एकता र चुनावी तालमेलले काँग्रेसलाई कुनै असर नपार्ने बताएका छन् । रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उनले भने– “काँग्रेस राणाका विरुद्ध एक्लै लड्यो, पञ्चायतसँग एक्लै लड्यो, राजतन्त्रसँग लड्यो, आफ्नै अस्तित्व र शक्ति भएको पार्टी हो, हामीले कसैसँग डराउँदैनौं ।”

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काँग्रेसले बहुमत ल्याएर छाड्ने बताउँदै उनले वाम एकताको आयु लामो नहुने धारणा व्यक्त गरे।

नेता लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले नैतिकताका आधारमा सरकार छोड्नुपर्ने उल्लेख गर्दै माओवादी केन्द्रले सरकार नछोड्नु सत्ता कब्जाको उदाहरण भएको आरोप लगाए ।

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले नेपाली काँग्रेसले झापादेखि कञ्चनपुरसम्म ५० प्रतिशतभन्दा बढी सिट नदिए चुनावी तालमेल नहुने स्पष्ट पारे ।

“राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालबीच गठबन्धन बनेको छ, त्यसैले चुनावमा जाँदा झापादेखि कञ्चनपुरसम्म काँग्रेस भन्दा बढी नैै सिट माँगेका छौं, कम्तिमा ५० देखि ६० प्रतिशत सिट हाम्रो गठबन्धनलाई दिए मात्रै काँग्रेससँग चुनावी तालमेल हुन सक्छ,” उनले भने ।

नेता कर्णले हाम्रो गठबन्धनले माँगे जतिको प्रतिशतमा सहमति नभए काँग्रेससँग स्वस्थ्य चुनावी प्रतिस्पर्धा हुने बताउँदै तोकिएकै मितिमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुनेमा आंशका नगर्न सबैमा आग्रह गरे ।

तोकिएको समयमै संघीय निर्वाचन हुन्छ, यदि हुन सकेन भने देशमा असामान्य स्थिति उत्पन्न हुने र गलत तत्वले चलखेल गर्न सक्ने भएकाले यसलाई कुनै पनि हालतमा सार्न नहुने बताउँदै उनले मधेशी जनताको परिवर्तनको गुञ्जायसलाई आत्मसात् गरेर नै आफूहरु यो निर्वाचनलाई आन्दोलनका रुपमा स्वीकार गरेको धारणा व्यक्त गरे ।

नेकपा (एमाले)का सचिव भीम आचार्यले आगामी मंसिरमा हुने निर्वाचनमा एमाले–माओवादी गठबन्धनले दुई तिहाइ सिट जित्ने र पाँच वर्षसम्म सरकारमा बसेर देशको मुहार फेर्न तत्पर रहेको बताए ।

आगामी १० वर्षभित्र अल्पविकसित मुलुक नेपाललाई विकासोन्मुख मुलुकमा परिणत गर्ने, देशबाट बेरोजगारी हटाउने तथा रोजगारीको सृजना गठबन्धनले गर्ने पनि उनले स्पष्ट पारे ।

माओवादी केन्द्र संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले देशमा राजनीतिक क्रान्ति पूरा भएको र गणतन्त्रलाई संस्थागत गर्ने काम भइरहेको बताउँदै वाम तालमेल देश र जनताको हितमा भएको विचार व्यक्त गरे ।
उनले माओवादी केन्द्र र नेकपा एमालेबीच आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६०÷४० का आधारमा उम्मेदवार दिन छलफल भइरहेको जानकारी दिए ।