राजनीति

यसकारण अबको चुनावी टक्कर कांग्रेस र एमालेबीचमै हो, देखियो नयाँ राजनीतिक संकेत !

काठमाण्डौ । स्थानीय चुनावको रन्को सकिएलगत्तै मुलुकमा संघीय र प्रदेशसभा निर्वाचनको माहोल सुरु भएको छ । राजनीतिक दलहरु चुनावमा केन्द्रीत हुन थालेका छन् । स्थानीय चुनावमा भएको राजनीतिक शक्ति समीकरण बदलिएको छ । राजनीतिक शक्ति समीकरण बललिएसँगै मुलुकमा एउटा नयाँ बहसको सुरुवात भएको छ ।

बाम कम्युनिष्टहरु र लोकतान्त्रिक धारबीच देखिएको धुर्वीकरणले चुनावमा प्रभाव पार्ने देखिए पनि यो खालको धुर्वीकरणलाई जनताले भने पत्याउने आधार खस्किदै गएको देखिन्छ । दशैंको अन्ततिर कम्युनिष्टहरु एक हुने सपना दिएर निर्माण भएको उक्त बाम गठबन्धनबाट बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति बाहिरिसकेको छ भने नेकपा एमाले र माओवादी केन्द्रबीचको आन्तारिक तालमेलको कुरामा समेत मन मिल्न नसकेका कुराहरु बाहिर आइरहेका छन् । त्यस्तै लोकतान्त्रिक गठबन्धनमा पनि कांग्रेस, राजपा र अन्य मधेसवादी दलहरुबीचमा खासै कुरा मिल्न सकेको छैन ।

केही दिन अघिसम्म वाम गठबन्धनतिर जानेकि लोकतान्त्रिक गठबन्धनमा छिर्ने भन्ने कुरामा दोधारमा रहेको राप्रपा सरकारमा प्रवेश गरेको छ, जसका कारण सरकारमा रहेको माओवादी निश्प्रभावी हुने संकेत बढेर गएको छ । यी गतिविधिलाई सुक्ष्म ढंगले अध्ययन गर्ने हो भने मुलुकमा अब बैचारिक दृष्टिकोण भएका पार्टीहरुको मृत्यु हुँदै गएको देखिन्छ । चुनावी परिणाम र सत्ताको स्वार्थमा केन्द्रीत रहेर तत्कालका लागि सँगै हिडिरहेका सहयात्री दलहरुलाई गौंडा–गौंडामा धोका दिने राजनीतिक संस्कारले वर्तमान राजनीतिक दलहरुबाट मुलुकको भविष्य कता जाँदैछ भन्ने कुरा छर्लङ हुँदै गएको देखिन्छ ।

के बाबुरामलाई कांगे्रसले पत्याउला ?
बाम गठबन्धन निर्माण गरी हतार–हतार सुर्य चिन्हबाटै चुनाव लड्ने तरखरमा पुगेका बाबुराम भट्टराई हतार–हतारमै बाम गठबन्धनबाट बाहिरिएका छन् । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल लगायतका विषयमा कुरा नमिल्दा उनले तत्काल गठबन्धन बाहिरिने निर्णय गरे ।

विशेषगरी गोरखा क्षेत्र नम्बर–२ बाट चुनाव लड्ने विषयमा बाबुराम र माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच कुरा नमिल्दा उनले तत्काल गठबन्धन तोडे । अब उनले गोरखा–२ मा चुनाव लड्ने रणनीति तय गरेका छन् । कांग्रेससँग मिलेर चुनाव लड्ने रणनीति बनाएका बाबुरामलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पत्याउलान् नपत्याउलान् त्यो भने हेर्न बाँकी छ ।

यसरी सकिदैछन् दलहरु !
यसबाट बाबुराममा पनि वैचारिक राजनीति दृष्टिकोण भन्दा पनि तत्कालका लागि शक्ति समीकरण फेरबदल गर्ने प्रवृत्ति देखिएको छ । त्यस्तै, राप्रपमा पनि तत्काल त्यो खालको प्रवृत्ति देखिएको छ । लामो समय राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राप्रपाले पछिल्ला वर्ष उसको साथ छोड्दै गयो र लोकतान्त्रिक प्रक्रियामा सामेल भयो ।

राजतन्त्रको आफ्नो पहिलो र महत्वपूर्ण वैचारिक दृष्टिकोणसँग गाँसिएर आएको सो पार्टीमा पनि विचार मर्दै गएको एकथरी विश्लेषकहरुको भनाई छ । आफ्नो मूल दृष्टिकोणनै (राजतन्त्र) नै छाडेर अन्य शक्तिहरुसँग साँठगाँठ गर्नु र कुर्सी पाउने वित्तिकै ह्वात्तै हाम फाल्नुले राप्रपा मुलुकको भरपर्दो शक्तिबाट कट्दै गएको प्रस्टै बुझ्न सकिन्छ । त्यस्तै दश वर्षको जनयुद्ध गरेर आएको पुष्पकमल दाहाल नेतृत्वको माओवादीमा समेत वैचारिक स्खलन भएको प्रस्ट देखिन्छ । वाम गठबन्धनको नाममा कम्युनिष्टहरु एक हुने नारा दिएर एमाले र माओवादी केन्द्रबीच सहमति भएपनि ती दुई पार्टीबीच तत्काल पार्टी एकता हुने सम्भावना निकै कम भएको जानकारहरु बताउँछ ।

दाहाल निकै दुरदर्शी र चतुर राजनीतिक खेलाडी भएकोले उनले एमालेसँग मिलेर आफ्नो पार्टीको साख जोगाउने खेल खेलेको राजनीतिक विश्लेषकहरु बताउँछन् । त्यस्तै एमाले अध्यक्ष केपी ओली झन् माहिर राजनीतिक खेलाडी भएकोले उनको महत्वाकांक्षा समेत अर्कै रहेको प्रस्टै बुझिन्छ ।

त्यस्तै, माओवादीबाटै फुटेर बनेको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पनि अघिल्ला चुनावहरु बहिष्कार गर्दै आएपनि यो पटक चुनावमा भाग लिने निर्णय गरेको छ । सो पार्टीको दृष्टिकोणमा उसमा पनि बैचारिक रुपमा स्खलन आएको छ । यसरी अति उग्रपन्थी र अति दक्षिणपन्थी राजनीतिक शक्तिहरु विपरित ढंगले वैचारिक दृष्टिकोणबाट बाहिरिदै जानु भनेको मुलुकमा भरपर्दो वैचारिक राजनीतिक शक्तिको सकिदै गएको संकेत हो । यद्यपि, अहिले मुलुकमा नेपाली कांग्रेस र एमालेबीचनै टक्कर हो भन्ने विषयलाई भने यसले थप टेवा दिएको देखिन्छ ।