पर्यटन/संस्कृति

अत्याधुनिक सेवा र सुविधासहित थप पाँच पर्यटकीय बस सञ्चालनमा

काठमाडौँ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ट्राभल्स नेपाल बस सर्भिस प्रालिले अत्याधुनिक सेवा र सुविधासहित थप पाँच पर्यटकीय बस सञ्चालनमा ल्याएको छ ।

‘उमंगको अनुभूति’ भन्ने नाराका साथ यही वैशाखमा चार वटा बस सञ्चालन गरेको प्रालिले आजदेखि थप पाँचवटा बस सञ्चालनमा ल्याएको हो ।

बसभित्र तातो, चिसो खानेकुरा पाइनुका साथै शौचालयको समेत व्यवस्था भएकाले आनन्ददायी यात्रा गर्न मिल्ने जानकारी उक्त प्रालिले दिएको छ ।

प्रालिका निर्देशक दीपक भट्टराईले यात्रुको चाहना, सुरक्षा र सुविधालाई ध्यानमा राखी काठमाडौँदेखि लुम्बिनी र काठमाडौँदेखि पोखरासम्मका लागि उक्त बस सञ्चालनमा ल्याइएको जानकारी दिए ।

“अहिले हामीले पोखरा र लुम्बिनीमा मात्र बस सञ्चालन गरेका छौँ, आगामी दिनमा सौराह र जनकपुरसम्म लैजाने योजना रहेको छ,”– निर्देशक भट्टराइले भने।

प्रालिका अर्का निर्देशक मिलन नेपालले नयाँ बसबाट यात्रा गर्न चाहनेका लागि मोबाइल एप्स र इ–सेवामार्फत टिकट काट्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । “पर्यटकलाई लक्षित गरेर यो बस भित्र्याइएकाले विदेशी सेवा सरह बनाउन खोजेका हौँ,”–उनले भने ।

बाइस सिट क्षमता भएको उक्त बसमा प्रिमियम थाइरेस्ट सोफासिट राखिएको छ । प्रालिका वित्तीय निर्देशक मनिष केसीले भारतमा निर्माण भएको उक्त बसको लागत रु एक करोड पर्ने जानकारी दिए ।

उक्त बस काठमाडौँ–पोखरा जाने विदेशीका लागि खानासहित २५ डलर र स्वदेशी पर्यटकका लागि २० डलर लाग्ने प्रालिले जनाएको छ । ट्राभल नेपाल प्रालिले सञ्चालनमा ल्याएका नौ बसमध्ये छ वटा बस पोखरा र तीन वटा बस लुम्बिनीका लागि सञ्चालन भएका छन् ।