पु.समाचार

यसरी पेश गरिदैछ पचास प्रतिशत महिला सहित समानुपातिकतर्फ बन्दसूची

काठमाडौँ । यही २०७४ मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले उम्मेदवारहरुको बन्दसूची पेश गर्ने कार्य सुरु भएको छ ।

कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको समानुपातिक निर्वाचन इकाईमा सबैभन्दा पहिला आज बिहान १० बजे राष्ट्रिय यथार्थवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ ११ जना उम्मेदवारको बन्द सूची पेश गरेको छ । आयोगले आज बिहान १० देखि अपरान्ह ५ बजेसम्म दलहरुलाई उम्मेदवारहरुको बन्दसूची पेश गर्न समय तोकेको छ ।

दलहरुले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि आज आइतबार उम्मेदवारहरूको बन्दसूची पेश गर्ने निर्वाचन कार्यतालिका रहेको छ । दलहरुले उम्मेदवारहरुको बन्दसूची पेश गर्दा ५० प्रतिशत महिला उम्मेदवारसहित समानुपातिक र समावेशीका आधारमा नामावली समावेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।