राजनीति

निवर्तमान उपसभामुख गंगा यादव एमाले प्रवेश

भक्तपुर । निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमाले प्रवेश गरेका छन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास वालकोटमा आज आयोजित बिशेष कार्यक्रममा यादव एमाले प्रवेश गरेका हुन् ।

उहाँलाई अध्यक्ष ओली र महासचिव इश्वर पोखरेलसहितका एमाले शीर्ष नेताले खादा तथा टिका लगाएर एमालेमा प्रवेश गराए । आफू कक्षा १० मा अध्ययनरत रहँदादेखि नै कम्युनिष्ट भएको भन्दै लामो समयपछि एमाले प्रवेश गर्न पाएकोमा उनले खुसी व्यक्त गरे । ‘म कक्षा १० मा अध्ययनरत रहँदा नै कम्युनिष्ट थिएँ,’ यादवले भने, ‘म त्यसैबेला कम्युनिष्ट पार्टीको सदस्य बन्न चाहन्थें । त्यो अवसर आज प्राप्त भयो, खुशी लागेको छ ।’

उनले एमाले प्रवेश गर्दा कमल थापाले नेतृत्व गरेको राप्रपाको आलोचना गरे । ‘मैले मेरो पूर्व पार्टीका अध्यक्ष कमल थापालाई उपसभामुख रहुन्जेल नैतिकताका आधारमा पार्टी छाड्न मिल्दैन भनेको थिए,’ उनले भने, ‘त्यसैले निवर्तमान भएकै भोलिपल्ट एमाले प्रवेश गरेको हुँ, एमाले प्रवेश गर्नुको मुल कारण चाँही ओली नेतृत्वको सरकारले गरेको काम र हिमाल पहाड तराईलाई जोडने ओलीको सोच नै हो ।’

उनले एमाले अध्यक्ष ओली राष्ट्रप्रेमी र विकासवादी भएको तथ्य राखे । ‘केपी ओली विकासवादी र राष्ट्रवादी नेता हुनुहुन्छ, उहाँलाई देशको चिन्ता छ, अरु दलका नेतालाई राष्ट्रको कुनै चिन्ता छैन, केवल पद पाए पुग्दो रहेछ,’ उनले भने,, ‘देश विखण्डनतर्फ गइरहेको छ, अरु दलका नेता त्यही चाहिरहेका छन तर एमाले र यो पार्टीका अध्यक्ष ओलीले त्यसलाई रोक्न सबै भन्दा बढी भूमिका खेल्नुभएको छ, मधेशको हितमा काम पनि एमालेले मात्रै गरेको छ, यो तथ्य अव कसैसामु छुप्न सक्दैन ।’ यादवले हिमाल, पहाड र तराई जोड्ने एक मात्र पार्टी एमाले नै रहेको ठोकुवा गरे ।