राजनीति

प्रधानमन्त्री देउवाको सम्बोधनमा पत्नी आरजुको नजर, यस्तो थियो संसद बैठकभित्रको दृष्य !

काठमाण्डौ । शनिबार संसदको अन्तिम बैठकमा ठुला दलका शीर्ष नेताहरुले बोल्दा संसद हल जति स्तव्ध भैरहेको थियो त्यतिनै सबैमा कौतुहलता पनि देखिदै थियो । किनभने संसदको आफ्नो आयू त सकिदै थियो नै तीन शीर्ष नेताहरुका पछिल्ला राजनीतिक उत्तारचढावमय क्रियाकलापका कारण नेपाली राजीतिक रंगमञ्च तरंगित भैरहेको थियो ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली राजनीतिक रंगमञ्चमा देखिएको बाम गठबन्धनको सरप्राइज र त्यो टक्करमार्फत प्रधानमन्त्री देउवाले चालेको मन्त्रिपरिषद विस्तारको कदमले संसदको अन्तिम बैठक निकै तातेको थियो । तीनै पार्टीका शीर्ष नेताहरुले एकले अर्कोलाई आरोप–प्रत्यारोप लगाइरहँदा सांसदहरु कोही मुस्कुराईरहेका देखिन्थे भने कोही गम्भीर मुद्रामा देखिन्थे । दाहाल, ओली र देउवाको लस्करै बोल्ने पालो थियो ।

अन्तिममा प्रधानमन्त्री देउवाले बोलिरहँदा दाहाल र ओलीले मागेको जवाफ मात्र दिएनन्, आफुले मन्त्रिपरिषद विस्तार गर्ने काम संवैधानिक व्यवस्था अनुरुप भनेको जिकिर गरेपछि ओली र दाहालको अनुहार फिक्का देखन्थ्यो । प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत संवैधानिक राष्ट्रपतिको भूमिका निर्वाह गरेकोमा धन्यवाद दिएका थिए । सुरुमा निकै गम्भीर र संवेदनशील ढंगबाट आफ्नो मन्तव्य सुरु गरेका प्रधानमन्त्री देउवाले सम्बोधनको मध्य र अन्त्यतिर केही आक्रोस पोखेका थिए ।

उनले भने, ‘यो देशको सबैभन्दा ठूलो प्रजातान्त्रिक र राष्ट्रवादी शक्ति भनेको कांग्रेस हो, कांग्रेसलाई जति मुुलुकको चिन्ता अरुलाई छैन ।’ प्रधानमन्त्री देउवाले यसो भनिरहँदा संसद हल एक्कासि स्तब्ध भएको थियो । प्रधानमन्त्रीले यसो भनिरहँदा एमाले अध्यक्ष ओली नजिकै बसिरहेका नेताहरुसँग कानेखुसी गरिरहेका थिए ।

मन्त्रीमण्डल बिस्तारबारेको औचित्य पुष्टि गर्न जवाफ मागेका एमाले अध्यक्ष ओलीलाई समेत प्रधानमन्त्री देउवाले जवाफ फर्काए । उनले मन्त्रीमण्डल ठुलो हुँदैमा चिन्ता नगर्न आग्रह गरे । देउवाले मन्त्रीमण्डल संवैधानिक व्यवस्था अनुरुपनै विस्तार गरिएको र यसमा निर्वाचन आयोग र राष्ट्रपतिको सुझावबाटै काम गरिएको उनको स्पष्टोक्ति थियो ।

देउवाले दिए माओवादी मन्त्री हटाउने संकेत !
संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अर्को एउटा संकेत समेत गरिसकेका छन् । मन्त्रीमण्डल ठूलो भयो भन्नेहरुलाई केही दिनमै मन्त्रीमण्डल सानो बनाएर देखाइदिने संकेत गरे ।

उनको यो भनाईबाट के बुझ्न सकिन्छ भने प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई कि त बर्खास्त गर्देछन् कि विना विभागीय बनाएर स्टोरेज गर्दैछन् ।

उनको भनाइको संकेत भनेको केही मन्त्रीहरुलाई सरकारबाट बर्खास्त गर्ने रहेको श्रोतको दाबी रहेको छ । त्यसमा माओवादी मन्त्रीहरुलाई गाडेमेल गर्ने भन्ने कुरा सहजै बुझ्न सकिन्छ ।

प्रधानमन्त्री पत्नी डा.आरजुको ध्यान !
संसद बैठकमा सम्भावित कदमहरु चाल्ने भन्दै निकै आकर्षणको पात्र बनिरहेका प्रधानमन्त्री देउवाको सम्बोधनमा सबैको ध्यान गइरहेको थियो । सोही क्रममा प्रधानमन्त्री पत्नी डा.आरजु देउवा पनि प्रधानमन्त्री पति देउवाको सम्बोधनलाई ध्यान दिएर सुनिरहेकी थिइन् ।

सुरुमा निकै संवेदनशील भएर प्रधानमन्त्री प्रस्तुत हुँदा केही छट्पटाएजस्तो देखिएकी आरजु बीचमा पुग्दा निकै गम्भीर जस्ती देखिएकी थिइन् । उनले प्रधानमन्त्री देउवाको सम्बोधन अरु सांसदहरुले भन्दा निकै ध्यानपूर्वक सुनेजस्तो भान हुन्थ्यो ।

प्रधानमन्त्रीको सम्बोधन मध्य र अन्तिमतिर केही उत्तारचढावपूर्ण देखिदै थियो । प्रजातान्त्रिक आन्दोलनमा कांग्रेसको मुख्य भूमिका रहेको र सबैभन्दा राष्ट्रवादी पार्टी कांग्रेसनै भएको भन्ने उद्घोष गरेर सम्बोधन अन्त गर्दैगर्दा प्रधानमन्त्री पत्नी एवम् नेपाली कांग्रेसकी सांसद आरजु झनै गम्भीर देखिन्थिन् भने कांग्रेसका अन्य सांसदहरुले ताली ठोकेका थिए ।