आर्थिक

कञ्चनपुर ठूलो व्यापारिक नाकाका रुपमा विकास हुन्छः नेता लेखक

भीमदत्तनगर । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखक कञ्चनपुर आगामी केही वर्षभित्रै ठूलो व्यापारिक नाकाका रुपमा विकास हुने बताएका छन् ।

कञ्चनपुरको भीमदत्तनगरमा आज व्यापार तथा व्यवस्थापन शिक्षासम्बन्धी शैक्षिक सम्मेलनको उद्घाटनपछि बोल्दै नेता लेखकले कञ्चनपुरबाट उत्तरको चीन र दक्षिणको भारतलाई यातायात र पूर्वाधार जोड्न सके केही वर्षभित्रै ठूलो नाकाका रुपमा विकास हुनेमा जोड दिए ।

“छिमेकीमा दुई ठूला अर्थतन्त्र रहेको मुलुक छन्” लेखकले भने–“हामीले यातायात र पूर्वाधार मात्रै जोड्न सके धेरै विकास हुन्छ ।” उनले दुवै देशसित व्यापारिक नाका बनाउने विषय प्रक्रियामा रहेको जानकारी समेत दिए । उनले व्यापारमा नयाँ प्रकृति आइरहेको बताउँदैसँगै आउने चुनौती र सम्भावनालाई व्यवस्थापन आजको आवश्यकता रहेको औँल्याए । मुलुक आर्थिक रुपले सबल भए मात्रै लोकतन्त्र दिगो रहनसक्ने उनको भनाइ थियो । “अब समुन्नति आवश्यक छ” उनले भने– “युवा वर्ग आर्थिक विषयमा अघि बढ्नु जरुरी छ ।”

यहाँस्थित ब्रिक्टन कलेजको आयोजनामा आजदेखि शुरु भएको शैक्षिक सम्मेलनमा महेन्द्रनगर र धनगढीका विभिन्न क्याम्पसका व्यवस्थापन संकायका विद्यार्थीको सहभागिता रहेको छ ।