समाचार

नयाँ मन्त्रीहरुको सपथग्रहण अन्योलमा, यस्तो तयारी गर्दैछ शीतल निवास !

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेपनि मन्त्रीहरुको सपथग्रहण अन्योलमा परेको छ ।

मन्त्रिपरिषद विस्तार गरेलगत्तै पठाइएको मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालय शीतल निवासमा पठाइएपनि स्वीकृत भएको छैन ।

राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद विस्तारको विषयमा निर्वाचन आयोग र कानुनविदहरुसँग परामर्श गरेर मात्र यो निर्णय लिने बताइरहेको छ ।

शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवलाई भेट्दैछिन् । डा. यादव र केही कानूनविदहरुसँग भेटेर उनले अन्तिम निर्णय गर्ने जनाइएको छ ।

सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप आयोगले आपत्ति जनाइरहेको छ भने बामगठबन्धनमा आबद्ध एमाले–माओवादी लगायतका दलहरुले प्रधानमन्त्री देउवाको यो कदमप्रति आपत्ति जनाइरहेका छन् ।

प्रधानमन्त्री देउवाले नयाँ मन्त्रीहरुको शनिबार सपथका लागि समय तोकेका थिए । निर्वाचन आयोगले आचारसंहिता विपरितको काम भने पनि सरकारले भने निर्वाचनको आधिकारिक प्रक्रिया आगामी कार्तिक ५ गतेदेखि सुुरु हुने भन्दै अहिले विस्तार गरिएको सरकारले कुनै फरक नपार्ने संकेत दिएर यो काम गरेको बुझिन्छ ।