पु.समाचार

आजदेखि संसदको कार्यकाल समाप्त, यसरी बिदाई हुँदैछन् सांसदहरु

काठमाण्डौ । रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल समाप्त भएको छ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मनोनयन आइतबार हुने भएसँगै संवैधानिक व्यवस्था अनुसार शुक्रबारदेखि कार्यकाल सकिएको हो । संसद सचिवालयले औपचारिक रूपमा शनिबार विशेष समारोहबीच कार्यकाल समापन गर्दैछ ।

शुक्रबारको अन्तिम बैठकमा सभामुख ओनसरी घर्तीले चालु अधिवेशनमा अनुपस्थित हुने सांसदको नामावली जानकारी गराई अनुमोदन गराएकी थिइन् । संसद् अविधेशन अन्त्यकै शैलीमा कार्यकालको अन्तिम बैठक अन्त्य गरिएको हो । तर, औपचारिक रूपमा सचिवालयका तर्फबाट शनिबार विशेष समारोह आयोजना गर्ने कार्यक्रम शुक्रबार बिहान मात्र तय भएको हो ।

सभामुखका प्रेस विज्ञ बबिन शर्माका अनुसार शनिबार २ बजेदेखि साँझ ७ बजेसम्मको औपचारिक कार्यक्रम तय भएको छ । सोही कार्यक्रममार्फत सांसदहरु बिदाई हुँदैछन् ।

शनिबार दिउँसो २ बजे सभामुख र राजनीतिक दलका नेताको उपस्थितिमा तस्बिर सत्रको कार्यक्रम हुनेछ । अपराह्न ३ बजे राजनीतिक दलका शीर्ष नेताहरूले औपचारिक रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

सभामुख घर्तीले समेत उक्त अवसरमा संसद्ले गरेका काम कारबाहीबारे जानकारी दिनेछिन् । औपचारिक मन्तव्यपछि सभामुखले आयोजना गर्ने जलपान कार्यक्रम सुरु हुनेछ ।

दोस्रो संविधानसभाको पहिलो बैठक २०७० माघ ७ मा सुरु भएको थियो । उक्त समयसीमाअनुसार संविधानसभाको कार्यकाल चार वर्ष तोकिएको थियो । तर, संविधान सभाले करिब १८ महिनामा संविधान जारी गरेपछि संविधानसभा विघटन भई रूपान्तरित व्यवस्थापिका संसद् कायम भएको थियो ।