आर्थिक

विवादमा परेका आयल निगमका निर्देशक खड्का मन्त्रालय तानिदै

काठमाण्डौ । इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले आपूर्ति मन्त्रालयमा तान्न प्रक्रिया अघि बढाएको छ ।

खड्कालाई निगममै राख्दा थप क्षति हुने ठहर गर्दै सरकारले मन्त्रालयमा हाजिर गराउन निर्वाचन आयोगसँग अनुमति मागेको छ ।

डेढ अर्ब रुपैयाँ घोटाला गरेको आरोप लागेका खड्कालाई मन्त्रीपरिषद बैठकले स्पष्टीकरण नसोधि बर्खास्त गरेको थियो ।

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि खड्का निगम फर्किएका थिए । निर्वाचन आचारसंहिता लागेकाले खड्कालाई मन्त्रालयमा हाजिर गराउन आयोगमा अनुमतिका लागि पत्राचार गरिएको छ ।

शनिबारको नागरिकमा लेखिएको छ,  अनियमितता पुष्टि भएकाले खड्कालाई निगमको भूमिकाबाट बाहिर राख्न लागिएको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
खड्कालाई मन्त्रालयमा तान्न आयोगमा पत्राचार भइसकेको छ । ती अधिकारीले भने, आयोगले अनुमति दिनासाथ मन्त्रालयमा तान्छौं ।