स्वास्थ्य

युवायुवतीलाई खुसीको खबर अब गर्भपतन सेवा निःशुल्क

नुवाकोट । जिल्ला स्वास्थ्य कार्यालय, नुवाकोटले गर्भपतन सेवा निःशुल्क बनाएको छ । तेस्रो सुरक्षित गर्भपतन सेवा दिवसको अवसर बनाएर स्वास्थ्य कार्यालयमार्फत प्रवाह हुंदै आएको गर्भपतन सेवा बिहीबारदेखि निःशुल्क गरेको हो ।

गर्भमा रहेको शिशुको लिंगको पहिचान नगरी गर्भवती महिलाले चाहेमा १२ सातासम्मको गर्भलाई सुरक्षित पतन गराउन सकिने सेवा वैधानिक प्रक्रियामा ल्याउन र सहज बनाउन निःशुल्क गरिएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख वसन्त अधिकारीले जानकारी दिए ।

सरकारबाट स्वीकृत प्राप्त र तालीम प्राप्त दक्ष जनशक्तिमार्फत यस अघिदेखि सञ्चालनमा रहेका जिल्लाको २० वटा स्वास्थ्य संस्थामा गर्भपतन गराउँदा लिँदै आएको सेवा शुल्क निःशुल्क गरिएको प्रमुख स्वास्थ्य अधिकृत अधिकारीले बताउनुभयो । गर्भपतन गराएबापत यसअघि रु ५०० देखि रु एक हजार आठसम्म शुल्क लिने गरिएको थियो ।

सरकारी अनुमति प्राप्त र तालीम लिएका दक्ष जनशक्तिमार्फत सञ्चालनमा रहेका स्वास्थ्य संस्था राउतवेशी, समुन्द्रटार, खरानीटार, ककनी, भदु्रटार, चतुराले, नुवाकोट मण्डला, बागेश्वरी, बुङताङ, काउले, थप–मनकामना, रालुकादेवी, खङभज्ञ्याङ, सुनखानी, थानापती, नर्जामण्डप, कुमरी, साल्मे, फिकुर, दाङसिङ र लिखुको सल्लेमैदानबाट प्रवाह हुँदै आएको सेवा निःशुल्क गरिएको छ ।

मातृ सुरक्षाका लागि प्रभावकारी माध्यम र प्रजननमा महिलाको अधिकार सुुरक्षित गर्न मौलिक हकको रुपमा रहेको गर्भपतन सेवा लिनेहरु वैधभन्दा पनि अवैध धेरै भएकाले महिलाको स्वास्थ्य जोखिममा पर्न नदिन सेवालाई निःशुल्क र प्रचारमा प्राथमिकता दिएको कार्यालयले जनाएको छ ।

नुवाकोटमा जिल्ला अस्पताल त्रिशूलीले गर्भपतन सेवा यसअघि देखि नै निःशुल्क गर्दै आएको छ भने मेरी स्टोप्स सेन्टरले शुल्क लिएर सेवा दिँदै आएको छ ।

नुवाकोटमा आर्थिक वर्ष ०७३/७४ मा ३१५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए भने आव ०७२/०७३ मा २५९ जनाले सेवा लिएको स्वास्थ्य कार्यालयले जनाएको छ । चालु आवमा करिब ५०० ले सेवा लिने अनुमान गरी आवश्यक औषधि र जनशक्तिको व्यवस्थापन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सरकारले गर्भपतन सेवालाई सबैको पहुँचमा पु¥याउन निःशुल्क र प्रचारप्रसारमा जोड दिँदै आइरहेको समयमा यसको दुरुपयोग समेत वृद्धि भएको भन्दै रोक्नतर्फ पनि ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् ।