राजनीति

एमालेको एउटा अडानले यसरी दुःख पाइरहेका छन् डा.गोविन्द केसीले

काठमाण्डौ । लामो समयदेखि संसदमा विचाराधिन एउटा महत्वपूर्ण विद्येयक एमालेले सहमति नदिँदा बीचमै अड्किएको छ । निकै समयअघि देखि संसदमा थन्किएको चिकित्सा शिक्षा विद्येयक पारित हुनेमा अन्योलता देखिएको हो ।

उक्त विद्येयक एमालेका असहमतिका कारण बिहीबार पनि प्रस्तुत हुन सकेन । सरकारले माथेमा आयोगको प्रतिवेदनअनुसार विद्येयक पारितको प्रक्रिया अगाडि बढाउन प्रस्ताव गरेपनि एमालेको असहमतिका कारण त्यो प्रक्रिया असफल भएको छ ।

बिहीबार बिहान सिंहदरवारमा आयोजित बैठकमा सो विषयमा एमालेले असहमति जनाएको थियो । माथेमा आयोगको प्रतिवेदनअनुसार विद्येयकका केही बुँदामा हेरफेर गर्न सरकार तयार देखिएपनि एमालेले संसदीय समितिबाट पारित भएअनुसार विद्येयक पारित हुनुपर्नेमा अडान दोहोर्याएको थियो ।

नेपाली कांग्रेसले भने विद्येयकको प्रस्तावना र कलेजको सम्बन्धनलाई डा.गोविन्द केसीको मागअनुसार अगाडि बढाउन प्रस्ताव गरेको थियो ।

एमालेले संसदीय समितिले पारित गरेको प्रतिवेदनका आधारमा विद्येयक पारित गर्ने पक्षमा अडान कायम राखेपछि तत्कालका लागि उक्त विद्येयकको पक्षमा सहमति जुट्ने सम्भावना न्युन देखिएको छ ।

उक्त बैठकमा सभामुख ओनसरी घर्ती, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल, माओवादी केन्द्रका प्रमुख सचेतक रेखा शर्मा, एमाले सांसद राजेन्द्र पाण्डे, कांग्रेसका तर्फबाट पूर्वस्वास्थ्यमन्त्री गगन थापा, माओवादी केन्द्रका रामनारायण बिडारी लगायतको उपस्थिति रहेको थियो ।

डा.केसीले गरे आह्वान
त्यस्तै तेह्रौ पटक अनसनमा बसेका डा.गोविन्द केसीले शुक्रबारदेखि संसदको समय सकिने भएकोले सभामुखले विशेष अधिकार प्रयोग गरेर भएपनि विद्येयक पास गर्न आह्वान गरेका छन् ।

बिहीबार साँझा अनसनस्थलबाटै उनले सो आह्वान गरेका हुन् । तर उनको कुराको सुनुवाई कतैबाट भएको देखिदैन ।

त्यस्तै डा.केसीको स्वास्थ्य अवस्था समेत बिग्रिदै गएको बताइएको छ । एमालेको अडानका कारण डा.केसीको जीवन त कतै तलमाथि हुँदैन भन्ने शंका समेत उब्जिएको छ ।