राजनीति

मंसिरको चुनाव सर्छकि सर्दैन होला ? देखियो एक्कासि यस्तो नयाँ संकेत ! देउवाले अब के गर्लान् ?

काठमाण्डौ । मुलुकको पछिल्लो राजनीतिक परिस्थिति निकै पेचिलो बन्दै गइरहेको छ । दशैं सकिनै लाग्दा मुलुकका कम्युनिष्ट शक्तिहरुले अप्रत्यासित रुपमा बाम गठबन्धन बनाउने निर्णय गरेसँगै मुलुकको राजनीतिक परिस्थितिले एकाएक नयाँ मोड लिएको हो ।

यही बीचमा आगामी मंसिरको निर्वाचन होला कि नहोला ? भन्ने विषयमा अहिले व्यापक रुपमा बहस भैरहेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा यो विषयमा व्यापक बहस सुरु भएको छ । नेपाली कांग्रेसले बाम गठबन्धन बनेपछि चुनावमा गए आफ्नो अस्तित्वमाथि नै धक्का लाग्न सक्ने देखेको छ भने बाम गठबन्धन चुनावमा जानैपर्ने बताइरहेको छ ।

यही बिन्दुमा आएर अहिले छिमेकी शक्ति राष्ट्रहरु समेत चुनाव गर्ने र नगर्ने पक्षमा देखिएका छन् । काठमाण्डौस्थित अमेरिका,भारत र चिनियाँ राजदूतावासका अधिकारीहरु आ–आफ्नो लबिङमा लागिरहेको श्रोतले बताएको छ ।

मंसिरमा चुनाव गर्ने किन नगर्ने भन्ने विषय अन्योलग्रस्त बन्दै जाँदा भारतीय र अमेरिकी राजदूले मंसिरमा चुनाव गर्दा थप अन्योलग्रस्त अवस्था आउन सक्ने भन्दै त्यसलाई सार्नुपर्ने विषयमा सल्लाह दिन लागेको श्रोतको दाबी छ ।

विशेषगरी भारत र अमेरिकाले नेपालमा बाम गठबन्धन बनेको देख्न चाहादैनन् । केही हप्ताअघि भएको बाम तालमेलले आगामी मंसिरमा नेपाली कांग्रेसलाई समेत धक्का लगाउन सक्ने भारत र अमेरिकाको बुझाई देखिन्छ । भारत र अमेरिकाले योपटक नेपाली कांग्रेसलाई राम्रो सहयोग गर्ने पक्का जस्तै देखिएको छ ।

त्यसैले भारतीय राजदूत, त्यहाँका कर्मचारी र अमेरिकन राजदूतावासका अधिकारीहरु यसबेला सक्रिय रुपमा मंसिरको चुनाव सार्न सल्लाह दिन लागेका छन् । नेपाली कांग्रेसका एक नेताका अनुसार भारत र अमेरिकाले केहीदिन अघि भएको बाम गठबन्धनलाई चीनको इशारामा निर्माण गरिएको रुपमा बुझेका छन्, जसले आगामी मंसिरको चुनाव समेत बाम गठबन्धनकै प्रभावमा पर्ने उनीहरुको विश्लेषण रहेको छ । त्यसैले पनि भारत र अमेरिकाले प्रधानमन्त्री देउवालाई समेत चुनाव सार्न सल्लाह दिइरहेको बुझिएको छ ।

प्रधानमन्त्रीले मान्लान् भारत र अमेरिकाको सल्लाह ?
बिहीबार भएको तीन दलका शीर्ष नेताहरुको बैठकमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई चुनाव नसार्न आग्रह गरे । चुनाव सार्नका लागि सहकार्य गरिरहेका ठुला दलहरुसँग समेत सल्लाह लिनुपर्ने प्रावधान रहेकोले एक्लै त्यस्तो निर्णय नलिन उनीहरुले आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवाले पनि चुनाव सार्ने मनस्थितिमा सरकार नरहेको बताएका छन् । यद्यपि, प्रधानमन्त्री देउवाले दुई पार्टीका अध्यक्षसँग खुलेर कुरा भने गरेनन् ।

श्रोतका अनुसार प्रधानमन्त्री देउवाको भित्री इच्छा भनेको मंसिरको चुनाव सार्ने नै रहेको छ । त्यसैले राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रम मिल्दै गयो भने मंसिरको चुनाव सार्ने तयारीमा सरकार देखिन्छ ।

त्यसर्थ प्रधानमन्त्री देउवाले भारत र अमेरिकाले दिएको सल्लाह मान्न सक्ने देखिन्छ, किनभने चीनको सल्लाह र परामर्शमा भएको बाम गठबन्धनको प्रभावमा चुनाव गर्दा नेपाली कांग्रेसका लागि समेत आत्मघात गरेसरह हुने बुझाईमा प्रधानमन्त्री देखिन्छन् । त्यसैले अमेरिका र भारतले राखेको प्रस्ताव प्रधानमन्त्री देउवाले मान्न सक्छन् र मान्नुपर्ने एकथरी विश्लेषकहरुको भनाई छ ।

चीनले भने अहिले जसरी पनि चुनाव गर्नुपर्ने पक्षमा आन्तारिक छलफल चलाइरहेको छ । नेपालमा बाम गठबन्धन बनेका बेला चुनाव सम्पन्न भए, त्यसले भोली कम्युनिष्टहरुकै सरकार बन्ने र त्यो सरकारलाई स्थिर बनाउन सके अमेरिका र भारतको योजनामा तिब्बतविरुद्ध बन्ने योजनाहरु भूत्ते सावित हुनसक्ने विश्लेषमा चीन पुगेको देखिन्छ । यसर्थ, मुलुकको पछिल्लो राजनीतिक परिदृष्यमा अब तीन ठुला शक्ति राष्ट्रहरुको प्रतिस्पर्धा सतहमै आएको पुष्टि हुन्छ ।