उर्जा

नेपालमा नवीकरणीय ऊर्जाको राम्रो सम्भावना

ललितपुर । नवीकरणीय ऊर्जाको विकासबाट नेपालमा हरित रुपान्तरण गर्न सकिने भएकाले यसको प्रवद्र्धनमा सरकार, दातृ निकाय र निजी क्षेत्रको सहकार्य जरुरी रहेको यहाँ आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् ।

डेनिस अन्तर्राष्ट्रिय विकास एजेन्सी (डानिडा), बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नर्वेजियन दूतावासद्वारा आयोजित नेपालको नवीकरणीय ऊर्जाको भविश्य विषयक अन्तरक्रियामा सहभागी वक्ताहरुले नेपालमा नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना रहेको र यसको विकासबाट स्वच्छ ऊर्जा पहुँचमा विस्तार गरी आर्थिक समृद्धि गर्न सकिनेमा जोड दिए ।

कार्यक्रममा नेपालका लागि नर्वेका राजदूत लाम्सेवे जोनासेनले नेपालले ऊर्जा क्षेत्रमा दिगो विकास लक्ष्यले निर्देशित गरेका लक्ष्य हासिल गर्न सक्ने विश्वास व्यक्त गरे ।

बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नवराज ढकालले सरकारले दातृ निकायको सहयोगमा मात्र निर्भर नभई आफ्नै लगानीमा नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धनमा जोड दिएको उल्लेख गरे ।

स्वतन्त्र विद्युत् उत्पादक संघका पूर्वअध्यक्ष खड्गबहादुर विष्टले विश्वव्यापी रुपमा नवीकरणीय ऊर्जा प्रविधिलाई विशेष जोड दिन थालिएको बताउँदै सोलार र जैविक इन्धनले मात्रै ऊर्जाको आवश्यकता पूरा गर्न नसक्ने जिकिर गरे ।

पर्वतारोही दावा स्टेभन शेर्पाले हिमालय क्षेत्रमा ऊर्जाको अझ बढी आवश्यकता पर्ने भएकाले सौर्य ऊर्जाबाट मात्र ऊर्जाको आपूर्ति हुने गरेको बताए ।