समाचार

निर्वाचनमा पर्याप्त सुरक्षाको प्रबन्ध गर्न आयोगको निर्देशन

काठमाडौं, असोज २६ । आगामी मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न उच्चस्तरीय सुरक्षा समितिको बैठक बसेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको उपस्थितिमा आयोगका माननीय आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा बसेको सो बैठकमा माननीय निर्वाचन आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्यालसहित गृहसचिव लोकदर्शन रेग्मी, रक्षासचिव श्रीधर सापकोटा, आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलगायतको उपस्थिति बसेको बैठकले उमेर्द्वारलाई कडा सुरक्षा दिन निर्देशन दिएको छ ।

बैठकमा माननीय प्रमुख निर्वाचन आयुक्त डा. यादवले गृह मन्त्रालयबाट प्रस्तुत गरिएको सुरक्षा योजना वस्तुगत र व्यावहारिक रहेको बताउनु हुँदै मनोनयनपत्र दर्ता गर्ने दिनको सुरक्षा, पहिलो चरणको मतदानपछि सदरमुकाममा ल्याइएका मतपेटिकाको सुरक्षा, अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा राष्ट्रियस्तरका नेताहरुको सुरक्षाजस्ता विषयमा पनि पर्याप्त ध्यान दिन निर्देशन दिए । उनले सुरक्षामा समन्वयको महत्वपूर्ण भूमिका हुने भएको हुँदा सुरक्षा निकायका सञ्चार संयन्त्रलगायत अन्य साधनसमेत चालू अवस्थामा राखेर उच्चस्तरको समन्वय कायम गर्न निर्देशन दिए । उनले सुरक्षाकर्मीलाई निर्भीक तथा निष्पक्ष भई आफ्नो कार्यक्षेत्रमा खटिन पनि निर्देशन दिए । सो अवसरमा हिमाली र उच्चपहाडी इलाकामा हिँउ पर्ने सम्भावनालाई समेत ध्यान दिई सुरक्षा योजना तथा सुरक्षा प्रबन्ध मिलाउन माननीय आयुक्तज्यूहरुले सुझाव दिएका थिए । माननीय आयुक्तज्यूहरुले म्यादी प्रहरीको उपादयेता र संख्याबारे विभिन्न जिज्ञासा राखेका थिए ।

बैठकको संयोजन गर्नुभएका माननीय निर्वाचन आयुक्त सुधीर कुमार शाहले गृह मन्त्रालयबाट प्रस्तुत गरिएको सुरक्षा योजना सम्बन्धमा आयोगमा छलफल गरी सुझाव दिइने बताए । राजनीतिक दलहरुको अस्वस्थ प्रतिस्पर्धाले सुरक्षा चुनौती थपिने तथा जातीय र साम्प्रदायिक सद्भाव कायम राख्न पनि सुरक्षा निकायले चनाखो भई सुरक्षा योजना कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए ।

बैठकको सुरुमा गृहसचिव लोकदर्शन रेग्मीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सञ्चालन गर्नका लागि तयार गरिएको सुरक्षा योजना २०७४ प्रस्तुत गरेका थिए । उहाँले निर्वाचन सुरक्षामा नेपाली सेनालगायत चारवटै सुरक्षा निकाय परिचालित हुने तथा पर्याप्त सुरक्षाकर्मी उपलब्ध गराउने उद्देश्यले म्यादी प्रहरी नियुक्ति गर्न लागिएको जानकारीसमेत दिनुभयो । उहाँले निर्वाचन आचारसंहिताको उल्लङ्घन हुन नदिने किसिमले सुरक्षा प्रबन्ध मिलाउने र सबै सुरक्षा निकायबीच समन्वयात्मक रूपमा काम गर्ने गरी सुरक्षा योजना तयार पारिएको बताए ।

आयोगका सचिव पौड्यालले सुरक्षा निकायका अधिकारीहरुबीच उच्चस्तरको समन्वय निरन्तर रुपमा आवश्यक रहने हुँदा सोहीअनुसार कार्य गर्न सुझाव दिनुभयो । नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महतले नेपाली सेनाले नेपाल सरकारको केन्द्रीय सुरक्षा समितिबाट भएका निर्णयअनुसार निर्वाचनमा आवश्यक सुरक्षा प्रदान गर्न र नेपाली सेना मातहत रहेका साधनहरु प्रयोग गर्न तयार रहेको बताउनुहुँदै मतदानको तीस दिन अगाडिदेखि सुरक्षा बेस स्थापना गरी काममा खटिने जानकारी दिए ।