राजनीति

नेपाली कांग्रेसको शक्तिशाली संरचना संसदीय समितिमा को–को परे ? को–को परेनन् ? (नामसहित)

काठमाण्डौ । नेपाली कांग्रेसभित्रको सबैभन्दा शक्तिशाली मानिने संरचना संसदीय समितिको गठन भएको छ । पार्टीको सबैभन्दा शक्तिशाली विभागको रुपमा मानिने उक्त संरचनामा यो पटक महत्वपूर्ण केही नेताहरु पर्न सकेनन् ।

कांग्रेसले ती नेताहरुलाई संसदीय समितिमा योजनाबद्धै नपारेको हो वा होइन भन्ने यथेष्ट कुरा बाहिर नआएपनि त्यसले एउटा बहस पैदा गरिदिएको छ ।

पार्टीभित्र निकै ठूलो प्रभाव रहेका र लामो समय प्रजातान्त्रिक आन्दोलनमा होमिएका नेताहरु संसदीय समितिमा नपर्दा त्यसले चुनावको मुखमै पार्टीभित्र अर्को नयाँ बहस जन्माइदिएको बताइन्छ । यी हुन् संसदीय समितिमा पर्न योग्य तर नपरेका नेताहरुः

अटाएनन् यी नेता
सभापति शेरबहादुर देउवाले गठन गरेको संसदीय समितिमा आठौं वरियताका केवी गुरुङ, १५ औं वरियताका बलबहादुर केसी, १७ औं वरियताका नरहरी आचार्य, १८ औं वरियताका प्रदीप गिरि, २१ औं वरियताका रमेश रिजाल, २२औं वरियताका डा.नारायण खड्का र २३ औं वरियताका डा.मिनेन्द्र रिजाल भने अटाएनन्। उनीहरु सो समितिमा पर्न योग्य नेता हुन् तर किन परेनन् ? भन्ने विषयमा अहिले कांग्रेसभित्र निकै ठुलो चर्चाको विषय बनेको छ ।

संसदीय समितिमा परेका नेताहरु
समितिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, चित्रलेखा यादव, खुमबहादुर खड्का, डा.रामशरण महत, अर्जुननरसिंह केसी, पूर्णबहादुर खड्का, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड र डा.प्रकाशशरण महत रहनुभएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

विधानअनुसार समितिले संघीय संसद् र प्रदेशसभामा काँग्रेसका तर्फबाट चुनाव लड्ने उम्मेदवारको अन्तिम निर्णय गर्नेछ ।