राजनीति

बाम गठबन्धनकै ‘एउटा शक्ति’ लोकतान्त्रिक गठबन्धनतिर जाने संकेत, कम्युनिष्ट एकताको प्रयास संकटमा !

काठमाण्डौ । दशैं नसकिदै वाम तालमेलको अभ्यासमा जुटेका नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच एक हप्ता पनि नवित्दै खट्पट् सुरु भएको छ । वाम एकताका लागि जुटेका यी तीन दलमध्ये नयाँ शक्ति पार्टी करिब बाम गठबन्धनबाट बाहिरिने निश्चित जस्तै भएपछि यस्तो संकेत देखिएको हो ।

बाम गठबन्धन निर्माणको प्रयाससँग आगामी मंसिरको चुनावमा कुन दलले कति सिट पाउने भन्ने विषयमा एमाले र माओवादी केन्द्रले नयाँ शक्ति पार्टीलाई बेवास्ता गरेको भन्दै बाबुरामले चर्को आपत्ति जनाएका छन् । यही विषयमा एमाले अध्यक्ष केपी ओली र नयाँ शक्तिका संयोजक भट्टराईबीच बुधबार ओली निवास बालकोटमा निकैबेर छलफल भएपनि वार्ता टुंगोमा पुग्न सकेन ।

उल्टै भट्टराई रिसाएर फर्किए । छलफलमा नयाँ शक्ति पार्टीले मागेजति सिट संख्या दिन नसकिने एमाले अध्यक्ष ओलीको जवाफपछि डा. भट्टराई आक्रोसित भएका थिए ।

नयाँ शक्तिले १५ प्रतिशत सिटको माग गरेको छ । उसले प्रदेशसभामा मात्रै ३० सिटको दाबी गरेको जनाइएको छ । तर भट्टराईले राखेको यो प्रस्तावको ओलीले सुनुवाई त गरे तर निर्णय गर्न बडो गाह्रो हुने भो भन्दै अस्वीकार गरेपछि भट्टराई रिसाएर फर्किएको श्रोतको दाबी छ ।

उनले बालकोटबाट फर्किएलगत्तै बबरमहलस्थित आफ्नो पार्टीको कार्यालय तत्काल केन्द्रीय नेतृत्वको बैठक बोलाए र ओलीले दिएको जवाफबारे समिक्षात्मक बैठक गरे । बैठकमा नयाँ शक्ति पार्टीका अधिकांश नेताहरुले बाम गठबन्धनबाट बाहिरिएर जानुपर्नेमा जोड दिएको श्रोतको दाबी छ ।

बाम गठबन्धन निर्माणको सुरुवात भएपनि माओवादी केन्द्र र नयाँशक्ति बीच पनि चुनावी तालमेलका विषयमा कुरा मिल्न सकेको छैन । गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफ्नो अडान लिएपछि भट्टराईलाई गोरखा–१ बाट उठाउने तयारी भएको थियो, त्यहाँ पनि स्थानीय माओवादी केन्द्रका नेताहरुले अवरोध गरेपछि भट्टराई थप आक्रोसित भैरहेका छन् ।

यसरी एमाले र माओवादी दुवै पक्षबाट हेपिएको संकेत पाएपछि नयाँ शक्ति पार्टी बाम गठबन्धनबाट बाहिरिने निश्चित जस्तै भएको श्रोतले बताएको छ । सम्भवतः बिहीबार र शुक्रबारभित्र नयाँ शक्तिे बाम गठबन्धनबाट बाहिरिने घोषणा गर्ने बताइन्छ ।

कांग्रेस नेतृत्वको गठबन्धनमा जान सुझाव
एमाले अध्यक्ष केपी ओलीसँग कुरा नमिलेपछि तत्काल पार्टी केन्द्रको बैठक बोलाएका भट्टराईले त्यसबारेमा निकै गम्भीर बहस गरे । बैठकमा नेताहरुले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हेप्न खोजेको भन्दै उनीहरुको बाम गठबन्धनमा बस्न नसकिने निश्कर्ष निकाले ।

उनीहरुले मिल्छ भने कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा गएर चुनाव लड्न नेतृत्वलाई सुझाव दिएको बताइएको छ । लोकतान्त्रिक गठबन्धनलाई मात्र होइन सरकारलाई समेत सहयोग गरेर जान नताहरुले भट्टराईलाई सुझाव दिएका थिए । यसबारेमा भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत सल्लाह लिने तयारी भैरहेको बुझिएको छ । ‘ओली र दाहालले धोका दिएको निश्कर्षमा भट्टराई पुगेका छन्,’ बैठकमा सहभागी एक नेताले बताए ।

कार्यदलका सदस्य फेरिए
वाम गठबन्धनको निर्वाचन क्षेत्र बाँडफाँड गर्ने कार्यदलमा एमालेबाट एक सदस्य फेरिएका छन् । एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा बिष्णु पौडेलको ठाउँमा शंकर पोखरेलले काम थालेका छन् ।

पौडेल एकता प्रक्रियामा सुरुदेखि नै संलग्न थिए । तर, पार्टीको प्रदेश ५ संयोजक समेत रहेका पौडेलले प्रदेश कमिटीमै व्यस्त हुनु परेको भन्दै अर्को नेता पठाउन आग्रह गरेका थिए । सोही बमोजिम पोखरेललाई पठाइएको हो ।

कार्यदलमा एमालेबाट शंकर पोखरेलसँगै सुरेन्द्र पाण्डे सदस्य छन् भने माओवादीबाट रामबहादुर थापा र वर्षमान पुन तथा नयाँ शक्तिबाट गंगानारायण श्रेष्ठ सदस्य छन् । तर अहिलेसम्म कार्यदलको बैठक बस्न सकेको छैन । यसबाट के पुष्टि हुन्छ भने बाम गठबन्धन संकटतिर उन्मुख भैरहेको छ ।