स्वास्थ्य

स्वास्थ्य सबैका लागि, दृष्टिको महत्व बुझौँ

काठमाण्डौ ।‘स्वास्थ्य सबैका लागि, दृष्टिको महत्व बुझौँ’भन्ने नारासाथ बिहीबार विश्व दृष्टि दिवस मनाउन लागिएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे चेतना फैलाउन विश्वभर विश्व दृष्टि दिवस मनाइने गरिन्छ ।

विश्व स्वास्थ्य सङ्गठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको छाता सङ्गठन अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेसले सन् २०१० को अध्ययनलाई आधार मानी विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ ।

उक्त लक्ष्य पूरा गर्न तिलगङ्गा आँखा प्रतिष्ठान, नेपाल नेत्र ज्योति सङ्घ लगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै सङ्घसंस्थाहरू लागि परेका छन् ।

बिहीबारको गोरखापत्रमा लेखिएको छ, वरिष्ठ आँखा रोग विशेषज्ञ डा।रोहित सैजुले विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनीकरण गर्न सन् १९९९ फेब्रुअरीमा भिजन २०२० कार्यक्रमको घोषणा गरी आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकीकृत स्वास्थ्य सेवा र दिगोपना चार मूल्य र मान्यतालाई जोड दिँदै हरेक वर्ष अक्टोबरको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रूपमा मनाउने गरिएको जानकारी दिए ।