पु.समाचार

यसरी शुरु गरिदैछ लोकसेवा आयोगमा कर्मचारी भर्ना

काठमाडौँ । लोकसेवा आयोगले रिक्त कर्मचारी पदपूर्तिका लागि दर्खास्त आह्वान शुरु गरेको छ । ‘कर्मचारी समायोजन ऐन’ संसद्बाट पारित भएपछि आयोगले सरकारलाई चाहिने कर्मचारीे पदपूर्ति आजबाट शुरु गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

आयोगले पहिलो चरणमा सहसचिव र उपसचिवका लागि दर्खास्त आह्वान गरेको हो । उनका अनुसार आयोगले १९९ सहसचिव र ५५६ उपसचिवका लागि दर्खास्त आह्वान गरेको छ । उपसचिवसमेत रहेका सुवेदीले सहसचिवमा रिक्त रहेका पदमध्ये ८३ खुला र ११६ बढुवामार्फत तथा उपसचिवमा रिक्त रहेका पदमध्ये ३५९ खुला र १९७ बढुवामार्फत पदपूर्तिका लागि दर्खास्त आह्वान गरिएको बताए ।

सबभन्दा बढी आयोगले प्रशासनतर्फ दर्खास्त आह्वान गरेको छ जस्मा ५९ वटा पद सहसचिवमा र ८९ वटा पद उपसचिवमा रहेको छ । दर्खास्त आह्वान गरिएका विज्ञापनमा आगामी मंसिर मसान्तमा परीक्षा हुने भएको छ । मंसिरको दोस्रो हप्ता परीक्षा हुने भनेता पनि निर्वाचनका कारण मंसिर मसान्तमा पुगेको उपसचिव सुवेदीले बताए ।

यस्तै अधिकृत तहका लागि पनि आगामी कात्तिक वा मंसिर मसान्तमा विज्ञापन गर्ने तयारी भइरहेको उनले बताए । अहिले आयोगले सामान्य प्रशासन मन्त्रालयलाई रिक्त दरबन्दीको सङ्ख्या उपलब्ध गराउन निर्देशन दिएको छ ।