पु.समाचार

संविधान कार्यान्वयन भएमात्र सबैको अधिकार सुरक्षित हुन्छ : मन्त्री मण्डल

लहान । आपूर्तिमन्त्री शिवकुमार मण्डलले संविधान कार्यान्वयन भएमात्र सबैको अधिकार सुरक्षित हुने बताएका छन् । बहिरा विद्यार्थीका लागि नवनिर्मित विद्यालय भवनको आज यहाँ उद्घाटन गर्दै उनले भने – “संविधान कार्यान्वयनका लागि सरकारले सङ्घ र प्रदेश सभाको निर्वाचन गराउनेतर्फ अगाडि बढिरहेको छ ।”

मन्त्री मण्डलले संविधानको सफल कार्यान्वयनबाट मात्र सबै नेपालीको अधिकार पूरा हुने बताउँदै स्थानीय तह जस्तै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन पनि शान्तिपूर्ण रुपमा सफल बनाउन सबैमा आग्रह गरे।

सिरहा नगरपालिका– ९ स्थित सिरहा बहिरा संघको परिसरमा करिब रु ४० लाखको लागतमा निर्माण भएको नयाँ भवनमा छात्रावाससहितको सुविधा रहेको सिरहा बहिरा संघले जनाएको छ । सो भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय र अन्य विभिन्न संघ संस्थाले सहयोग गरेका छन् ।

सिराहा बहिरा संघद्वारा २०५४ सालमा स्थापना भएको उक्त बहिरा विद्यालयलाई २०६३ सालमा आएर जिल्ला शिक्षा कार्यालयले अनुमोदन गरेको थियो ।

कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा ६ जना शिक्षक कार्यरत रहेका छन् । तीमध्ये एकजना जिल्ला शिक्षा कार्यालयबाट प्राप्त दरबन्दीमा छन् भने बाँकी पाँचजना शिक्षक प्राथमिक कान उपचार केन्द्रको आम्दानीबाट तलब खाँदै आएको सो विद्यालयले जनाएको छ ।