साहित्य

पूर्व सांसद तथा साहित्यकार जबराको निधन, काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सांसद तथा साहित्यकार ८८ वर्षीय जगदीशशम्शेर जबराको निधन भएको छ ।

जबराको सोमबार भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको थियो ।

उहाँको निधनप्रति नेपाली काँग्रेसले आज एक विज्ञप्ति प्रकाशित गरी गहिरो दुःख व्यक्त गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।

पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीले उनका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

काठमाडौँको बबरमहलमा जन्मनुभएका स्व राणाले गोरखा परिषद्बाट आफ्नो राजनीतिक जीवनयात्रा शुरु गर्नुभएको थियो । विसं २०१५ को आमनिर्वाचनमा उहाँ अछामबाट प्रतिनिधिसभाका लागि उम्मेदवार हुनुभएको थियो ।

गोरखा परिषद्को केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नुभएका स्व राणा २०१७ सालको ‘कु’ पछि गोरखा परिषद्का सबै नेताहरुका साथ नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको थियो ।

विसं २०४६ को ऐतिहासिक जनआन्दोलनपछि विसं २०५० मा उहाँ नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभाको सदस्य हुनुभएको थियो ।

स्व. राणा साहित्यिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो । उहाँको साहित्यिक कृति ‘नरसिंह अवतार’ चर्चित कृतिका रुपमा रहेको छ ।

उहाँ मदन पुरस्कारबाट समेत सम्मानित हुनुभएको थियो । स्व राणाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।