मनोरञ्जन

यसरी हुंदैछ काठमाडौँमा ‘मिस ज्यापू पेजेण्ट’

काठमाडौँ । नाफा मण्डलले ज्यापू दिवसको अवसर पारेर यही कात्तिक २५ गते ‘मिस ज्यापू पेजेण्ट’ को तेस्रो संस्करण काठमाडौँमा आयोजना गर्ने भएको छ ।

ज्यापू समुदायका वेशभूषा, संस्कृति तथा सभ्यतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको हो ।

ज्यापू समुदायका १७ देखि २४ वर्षसम्मका १९ किशोरीको सहभागिता रहने प्रतिस्पर्धात्मक कार्यक्रममा सहभागीले स्वदेशी उत्पादनबाट बनेका हाकु पटासी तथा तानबाट निर्माण गरिएका कपडाको प्रयोग गर्नेछन् ।

सहभागीलाई काठमाडौँ उपत्यकाका विभिन्न शहरका साथै कीर्तिपुर, मकवानपुरको टिस्टुङलगायत स्थानमा ज्यापू बस्तीको अवलोकन भ्रमण गराइनेछ । उनीहरुलाई नेवारी समुदायको रहनसहन, खानपिनका बारेमा पनि सिकाइनेछ ।

समुदायले परम्परागत रुपमा गर्दै आएको खेती तथा प्रविधिको विकाससँगै आधुनिक खेती प्रणालीमा आएको परिवर्तनबारे पनि सहभागीलाई जानकारी गराइने छ ।

कार्यक्रममा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार प्रदान गरिनेछ ।

नाफा मण्डलका सल्लाहकार तीर्थराम डंगोलले सो समुदाय परापूर्वकालदेखि नै काठमाडौँ उपत्यकामा बसोबास गरी कृषि पेशामा संलग्न हुँदै आएको बताउँदै कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान रहेको भएपनि अहिले विभिन्न क्षेत्रबाट भएका अतिक्रमणले उनीहरुको संस्कृति तथा पहिचान नै संकटमा परेको अवस्थामा आयोजना गर्न लागिएको सो कार्यक्रमले ठूलो सन्देश फैलाउने बताए ।

कार्यक्रमका संयोजक नयन्द्रराज डंगोलले सो समुदायको संस्कृति संरक्षणका लागि संस्था क्रियाशील रहेको जानकारी दिए ।

निःशुल्क धिमे, बाँसुरी, पश्चिमालगायत नेवारी बाजा सिकाउँदै आएको सो संस्थाले विष्णुमति सरसफाइका साथै ज्येष्ठ नागरिक तथा अनाथ बालबालिकालाई सहयोग जुटाउँदै आएको छ ।