उर्जा

विद्युत् चोरी गर्नेलाई कार्वाही

राजविराज । विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत सप्तरीका विभिन्न शहरी तथा ग्रामीण भेगमा पाँच दिन लगातार गरिएको अनुगमनका क्रममा ३० जनालाई पक्राउ गरी कार्वाही गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा खम्बाबाट सीधै तानी अनधिकृत रुपमा चोरी गर्ने ३० जनालाई पक्राउ गरी विद्युत् ऐनानुसार कार्वाही गरिएको केन्द्रका प्रमुख चन्द्रनारायण साहले बताए ।

उनीहरुका साथबाट २४ थान पानी तान्ने मोटर तथा आठ थान टिभीसमेत बरामद गरिएको छ । अभियुक्तलाई विद्युत् ऐनअनुसार जनही रु पाँच हजारका दरले राजश्व तिराएर छाडिनाका साथै आगामी दिनमा विद्युत् चोरी गरिएको फेला परेमा कडा कार्वाही गरिने चेतावनी दिइएको छ ।