शिक्षा

परीक्षा बोर्डका अध्यक्षमा डा. पौडेल

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षमा डा चन्द्रमणि पौडेल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को आजको बैठकले पौडेललाई चार वर्षका लागि नियुक्त गरेको हो । त्रिविका पूर्वरजिष्ट्रार पौडेल हाल सोही विश्वविद्यालयमा तथ्याकंशाशस्त्रका प्राध्यापक हुन् ।

पौडेलले उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले नियुक्तिको निर्णय भएको जानकारी दिएकाले आफूले चाँडै कार्यभार सम्हाल्ने बताए । शिक्षा ऐन (आठौँ संशोधन) बमोजिम तत्कालीन उच्चमाध्यमिक शिक्षा परिषद् खारेज भई सो संस्था बोर्डमा रुपान्तरण भएको थियो ।

विसं २०७३ असार १५ मा सो संशोधित ऐन लागू भए पनि हालसम्म बोर्डमा अध्यक्ष नियुक्त हुन नसक्दा पदेन उपाध्यक्ष (शिक्षा मन्त्रालयका सचिव) को नेतृत्वमा सामान्य कार्य सञ्चालन हुँदै आएको थियो । सो पदमा विज्ञापन गरी आवेदकमध्येबाट लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहेको सिफारिस समितिले पौडेलको नाम पठाएको थियो ।

पौडेलले माध्यमिक शिक्षाको मूल्याकंन र सम्परीक्षणको कार्य स्वायत्त गराउन तथा संघीय संरचनानुसार प्रादेशिक कार्यालय खोल्नेलगायत कामको योजना आफूसँग भएको बताए ।