पु.समाचार

दिनदहाडै गोली प्रहारबाट निर्माण व्यवसायीमाहासंघका अध्यक्ष गौचनको मृत्यु

काठमाडौँ । अज्ञात समूहको गोली प्रहारबाट आज नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ । आज दिउँसो करिब तीन बजेतिर काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वरको खरीबोट प्रयागमार्गमा अज्ञात समूहले चलाएको गोलीबाट घाइते भएका गौचनलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

अस्पतालमा कार्यरत चिकित्सक तथा पूर्व निर्देशक डा विमल थापाले घाइते गौचनको अस्पताल ल्याइपु¥याउनु अघि नै मृत्यु भइसकेको जानकारी दिए । “एउटा गोली मुटु, अर्को कलेजो र तेस्रो गोली मुटु र कलेजोको बीचमा लागेको छ, अस्पताल ल्याउँदा उनको श्वासप्रश्वास चलेको थिएन” – डा. थापाले भने ।

डा थापाका अनुसार गौचनको शरीरबाट दुईवटा गोली झिकिएको छ । एउटा गोली भेटिएको छैन । मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेर भागेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले गोली प्रहार गर्ने समूहको खोजी भइरहेको जानकारी दिएका छन् ।